Kakhara सबैको खबर सम्पूर्ण खबर
व्यवसाय गर्न महिलाहरुलाई बीउ पुँजी सहयोग
बीउ पुँजी हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष घर्ती ।

त्रिवेणि गाउँपालिकाका महिलाहरुलाई आय आर्जनका लागि बीउ पुँजी सहयोग गरिएको छ । त्रिवेणि गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाका १२ जना महिलाले व्यवसाय सञ्चालन गर्नका लागि बीउ पुँजी वापत नगद रुपैयाँ पाएका हुन् । महिला पुस्थापना केन्द्र ओरेक रुकुम पश्चिमले ११ जना महिलालाई २२ हजार ९ सय १  जनालाई २३ हजार ४ सय नगद रुपैयाँ बीउ पुँजी वापत सहयोग गरेको हो ।

बाख्रा पालन र तरकारी खेतीका लागि महिलाहरुलाई बीउ पुँजी सहयोग गरिएको ओरेककी जिल्ला कार्यक्रम संयोजक दिपा धितालले जानकारी दिनुभयो । दिगो जिविकोपार्जन कार्यक्रम अन्तर्गत कृषि व्यवसाय प्रबद्र्धन होस र त्यसैबाट महिलाहरुले आयआर्जन गर्न सकुन् भनेर बीउ पुँजी दिइएको धितालले बताउनुभयो । उक्त बीउ पुँजीबाट १५ दिन भित्र व्यवसाय सुरु गरिसक्नुपर्ने छ ।

ओरेक र महिलाहरुबीच भएको सम्झौता बमोजिम बीउ पुँजी स्वरुपको नगद पाएका महिलाले १५ दिन भित्रै व्यवसाय थाल्नुपर्ने छ । बाख्रा पालन गर्नेले बाख्रा किन्नुपर्ने र तरकारी खेती गर्नेले पनि त्यसको सुरुवात गर्नुपर्ने छ । त्रिवेणि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगरले उक्त बीउ पुँजी महिलाहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।

बीउ पुँजी हस्तान्तरण गर्दै अध्यक्ष घर्तीले आय आर्जनका लागि बीउ पुँजी महत्वपूर्ण रहेको भन्दै व्यवसायमा अघि बढ्न यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो । त्रिवेणि गाउँपालिका र अरु विभिन्न निकायको समन्वय, सहकार्यमा विविध कार्यक्रमहरु भइरहेको भन्दै अध्यक्ष घर्तीले हालसम्म भौतिक पूर्वाधारमा काम गरेपनि अब भने सामाजिक विकास र चेतनाका कामलाई प्राथमिकता राखिएको बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update