रुकुम पूर्वको सिस्ने गाउँपालिका ३, पोखराका स्वर्गिय मित्रलाल केसीको नाममा छात्रवृत्ति अक्षय कोष स्थापना भएको छ । तारानाथ आचार्यको सहयोगमा स्वर्गिय केसीका बुवा देवबहादुर केसी र श्रीमती जैकुमारी केसीले उक्त कोष स्थापना गर्नुभएको हो ।
यूनाइटेड मिशन टु रुकुम क्लष्टरको आर्थिक सहयोग नेपाल जनजागरण मञ्चको सहजिकरणमा पोखरामै गठन भएको स्वावलम्बि कृषि सहकारी संस्थामा उक्त कोष स्थापना भएको छ । कोष स्थापनाका लागि देवबहादुर र जैकुमारीले एक लाख एक हजार नगद सहकारीलाई हस्तान्तरण गर्नु भएको हो ।
कोष स्थापनाको सहयोगार्थ नेपाल जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारी मार्फत आचार्यले उक्त नगद देवबहादुर र जैकुमारीलाई पठाउनु भएको थियो । आचार्य यूमएन क्लष्टरका पूर्व स्वास्थ्य सल्लाहकार हुनुहुन्थ्यो । उहाँ हाल अष्ट्रेलिया बस्दै आउनु भएको छ ।
आफू पोखरा बसेको, सहकारी निर्माणमा लागेको त्यतिबेलाको सन्दर्भमा देवबहादुर केसीलाई अभिभावक मानेको नाताले अक्षय कोष स्थापनामा सहयोग गरेको आचार्यले बताउनुभयो । उक्त कोषको संरक्षकमा देवबहादुर र जैकुमारी नै हुनुहुन्छ ।
उक्त कोषमा सहकारीले पनि निश्चित प्रतिशत थपेर हरेक वर्ष एकदेखि दुई जना सम्म छात्र,छात्रालाई छात्रवृत्ति प्रदान गर्ने छ । पोखराकै जनता माध्यामिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्र,छात्रालाई उक्त छात्रवृत्ति प्रदान गरिने छ ।
उक्त कोषबाट आउने व्याजको नगदले छात्रवृत्ति प्रदान गर्ने गरी निर्णय भएको देवबहादुरले जानकारी दिनुभयो । सोही सहकारीमा आबद्ध सदस्यका सन्तती, गरीब र जेहेन्दारमध्यबाट छनौट गरेर छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो । २१ वर्ष अघि वितेको छोराको नाममा छात्रवृत्ति कोष स्थापना गर्न पाएकोमा खुसी लागेको उहाँको भनाई छ ।
‘यसले मेरो एक मात्र छोराको सम्झना अँझ अमर बनेको छ भने, छोराकै नामबाट बालबालिकाले ११, १२ पढ्न पाउने भएका छन्,’ उहाँले भन्नुभयो, ‘उमेर ढल्किसकेका बेला पनि यत्तिको गर्न पाएकामा ठूलो सन्तोष लागेको छ ।’ मित्रलालको २०५७ साल फागुनमा आकष्मिक निधन भएको थियो ।
पुस ५ गते सहकारीको दशौं वार्षिक साधारण सभाको अवसर पारी अक्षय कोष स्थापना गरिएको हो । उक्त सहकारी २०६९ असोज २५ गते स्थापना भएको थियो । उक्त सहकारीमा साविक पोखरा गाविस अर्थात हालको सिस्ने गाउँपालिकाका ३ र ४ नम्बर वडाका सबै नागरिक आबद्ध छन् । पोखरालाई उतिबेला सबै नागरिक सहकारीमा आबद्ध भएको गाविस पनि घोषणा गरिएको थियो ।