इसाइ धर्मालम्बिहरुका प्रभु ख्रीष्टको जन्मउत्सवको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको । रुकुम पश्चिमको सदरमुकाम खलंगामा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । मुसीकोट एजी चर्च परिवारले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा सहभागिहरुले जन्मोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए । मुसीकोट नगरप्रमुख देविलाल गौतमले इसाइ धर्मालम्बिहरुलाई शुभकामना दिँदै मानवको भलो, कल्याणनका लागि सबै लाग्नुपर्ने बताउनुभयो । जनयुद्धको कारण देशमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता आएको र यसले धर्म स्वतन्त्रता प्रदान गरेको नगरप्रमुख गौतमले बताउनुभयो ।
कुनै समय फरक धर्म मान्नेहरुलाई मुद्दा लगाइने गरेको सन्दर्भ सुनाउँदै उहाँले अब भने सबै धर्म मान्नेहरु देशका बराबर नागरिक भएको अधिकार संविधानमै सुनिश्चित भएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सह सचिव यज्ञबहादुर विष्ट, नेकपा एमाले मुसीकोट नगरका अध्यक्ष थलबहादुर ओली र नेकपा माओवादी केन्द्रका मुसीकोट नगरपालिका उपाध्यक्ष दलबहादुर खड्काले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नरेश खड्काले सञ्चालन गरेको कार्यक्रममा पाष्टर अविनाश बुढा मगरले ख्रीष्टमस शुभकामना सन्देश सुनाउनुभएको थियो । पास्टर जवाहरलाल पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सार्वजनिक रुपमा यसरी कार्यक्रम गरेको यो पहिलो पल्ट भएको आयोजकले जनाएको छ ।