Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट १ मा सडक खन्न हेलिकोप्टर मार्फत डोजर ओसारिदै 
डोजर ढुवानीका लागि खदी गाउँमा पुगेको हेलिकोप्टर र ढुवानीका लागि खोलेर टुक्रा टुक्रा बढाइएको डोजर ।

रुकुम पश्चिमका ७३ वडा मध्य अहिलेसम्म सडक सञ्जालमा जोडिन नसकेको वडा हो आठबीसकोट नगरपालिकाको वडा नम्बर १ । अव यो वडा पनि छिट्टै सडक सञ्जालमा जोडिने भएको छ । वडामा सडक पुर्याउनका लागि हेलिकोप्टर मार्फत डोजर ओसारिदै छ । आज वडा नम्बर ३ को खदी गाउँ देखि वडा नम्बर १ को चैतिखारासम्म हेलिकोप्टर मार्फत डोजर लैजान लागिएको छ । नगरपालिकाले नगरभरमा सडक सञ्जाल विस्तार गर्ने योजना अनुसार डोजरलाई खोलेर टुक्रा टुक्रा बनाएर हेलिकोप्टर मार्फत चैतिखारासम्म डोजर पुर्याउन लागेको हो ।

जसका लागि ४५ लाख खर्च लाग्ने नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेश सरकारबाट सडक निर्माणका लागि आएको ५० लाख रकमबाट डोजर १ नम्बर वडामा पुर्याउन लागिएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । थप बजेटका लागि नगरपालिकाले पहल गरिरहेकाे उहाँकाे भनाइ छ । नगरपालिकाले प्रतिघण्टा ७ हजार अमेरिकी डलरमा हेलिकोप्टर भाडामा लिएको केसीले बताउनुभयो । आज हेलिकोप्टर खदीबाट चैतिखारा ओसारीसक्ने उहाँको भनाई छ । करिब ६ खेपमा डोजर ओसार्ने र यसका लागि २ घण्टा जति समय लाग्ने अनुमान छ । 

डाेजर ढुवानीका लागि हिजै श्री एयरलाइन्सकाे हेलिकाेप्टर खदी गाउँ पुगिसकेकाे छ । 

कसरी जोडिदै छ वडा नम्बर १ सडक सञ्जालमा ?
नगरपालिकाका १४ वटा वडा मध्येमा अहिले १३ वडामा सडक सञ्जालको पहुँच पुगेको छ । सबैभन्दा विकट वडाका रुपमा रहेका वडा नम्बर १, २ र ३ मध्येमा २ र ३ नम्बर वडासम्म सडक मार्ग यसअघि नै पुगिसकेको छ । अव वडा नम्बर १ मा सडक जोड्नका लागि करिब ४० किलोमिटर सडक खन्न बाँकी छ । अहिले वडा नम्बर २ को स्याला गाउँबाट वडा नम्बर १ तर्फ सडक खन्ने गरी ठेक्का लागिसकेको छ । करिब ६ करोडको ठेक्कामा काम हुन लागेको नगर प्रमुख केसीले बताउनुभयो ।

अव डोजर चैतिखारा पुर्याइयो भने दुवै तर्फबाट सडक खन्न सुरु हुने छ । उहाँका अनुसार दुवै ठाउँबाट सडक खन्ने र शाईकुमारीमा भेटिने गरी काम हुन लागेको छ । वडा नम्बर २ को स्यालागाउँबाट खनिने सडक साईकुमारीमा पुग्ने छ भने हेलिकोप्टर मार्फत पुर्याइएको डोजरले वडा नम्बर १ को चैतिखारा देखि डाँडागाउँ, रोकाजा हुँदै शाईकुमारी मन्दिरसम्मको करिब १५ किलोमिटर सडक खन्ने छ । दुवै तर्फबाट खन्न थालिएको सडक शाईकुमारीमा पुग्यो भने वडा नम्बर १ पहिलो पटक सडक सञ्जालमा जोडिने छ ।

छिटो काम सक्नका लागि दुवै तर्फबाट सडक खन्न थालिएको नगर प्रमुख केसीले बताउनुभयो । ‘यही कार्यकालमा सबै वडामा सडक सञ्जाल विस्तार गरिसक्छौं भनेर हामीले प्रतिवद्धता गरेका थियौं, उहाँले भन्नुभयो–जसअनुसार धमाधम सडक निर्माणका कामहरु भए, अव वडा नम्बर १ मा मात्र सडक पुग्न बाँकी छ, उक्त वडामा पनि छिटो भन्दा छिटो सडक पुर्याउनका लागि दुवै तर्फबाट सडक निर्माण सुरु हुँदै छ, दुवै तर्फबाट सडक खन्नका लागि हेलिकोप्टर मार्फत डोजर ओसार्न लागिएको हो ।’ 

यसअघि पहिलो पटक २०६४ सालमा सिंगो रुकुम हुँदा गाउँगाउँमा सडक निर्माणका लागि सल्ले विमानस्थलबाट हेलिकोप्टर मार्फत डोजर ढुवानी गरिएको थियो । जिल्ला सदरमुकाममा मात्र मुश्किलले सडक पुगेको अवस्थामा गाउँ गाउँमा सडक पुर्याउनका लागि तत्कालिन शान्ति तथा पुनर्निर्माण मन्त्री तथा हालका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको पहलमा हेलिकोप्टर मार्फत गाउँगाउँमा डोजर ढुवानी गरिएको थियो । शान्ति स्थापना पछि रुकुममा सडक निर्माणको काम तिव्र गतिमा अगाडि बढेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update