Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी १२ पातिहाल्नेमा खेलकुद मैदान निर्माणको काम जारी
निर्माणाधिन खेल मैदान ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १२ पातीहाल्ने डाँडामा खेल मैदान निर्माणको काम जारी छ । नगरपालिकाको २५ लाख लागतमा खेलमैदान निर्माण हुन लागेको हो । मंसिर २७ गतेबाट निर्माण कार्य सुरु भएकामा अहिले आधा काम सकिएको छ । 

नगरपालिकाको एक वडा एक खेल मैदान अभियान अन्तरगत १२ नम्बर वडामा खेल मैदान निर्माण हुन लागेको हो । ५ वडालाई लक्षित गरेर खेल मैदान निर्माण भइरहेको वडाध्यक्ष टिकाराम ओलीले जानकारी दिनुभयो । यो खेल मैदानको १ सय मिटर लम्वाई र १ सय ४० मिटर चौडाई रहेको बर्ताइएको छ । 

यो खेल मैदान निर्माणका लागि विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् । स्थानीय काली बहादुर डाँगी, महाबिर डाँगी, प्रेमबहादुर डाँगी र गमबहादुर डाँगीले २ हजार ६ सय बर्गमिटर जग्गा दान गर्नुभएको छ । यो खेल मैदान निर्माण भए लगत्तै फागुनमा यहाँ मेयर कप संचालन गर्ने नगर प्रमुख विशाल शर्माले बताउनुभयो । 

‘नगरका सबै वडामा खेल मैदान निर्माण गर्ने अभियान हाम्रो हो, धेरै वडामा खेल मैदानको काम धमाधम भइरहेको छ, उहाँले भन्नुभयो–यसै अभियान अन्तरगत १२ नम्बर वडाको पातिहाल्नेडाँडामा पनि खेल मैदान निर्माणको काम जारी छ, यो मैदानको काम सकिएपछि आगामी फागुनमा मेयर कप संचालन गर्ने लक्ष छ ।’ 

साथै यो ठाउँलाई पर्यटकिय स्थलका रुपमा परिचित गराउनका लागि समेत नगरपालिकाले भुमिका खेल्ने उहाँले बताउनुभयो । यो मैदानको नगर प्रमुख शर्मा सहित प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुङेल, इन्जिनियर यज्ञबहादुर  कार्की लगाएतको टोलीले अनुगमन समेत गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update