यहाँको एक वडाले जेष्ठ नागरिकलाई ओढ्ने कपडा वितरण गरेको छ । सिस्ने गाउँपालिका २, ले वडाका ८५ जना जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो । वडा कार्यालयमा कार्यक्रम गरी उनिहरुलाई न्यानो ओढ्ने कपडा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । १८ जना ६० वर्षमाथिका दलित समुदायका जेष्ठ नागरिक र ६७ जना ७० वर्षमाथिका जेष्ठ नागरिकलाई न्यानो ओढ्ने कपडा वितरण गरिएको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । हरेक वर्ष जस्तै यो वर्षको जाडोमा पनि जेष्ठ नागरिकलाई सम्मान स्वरुप ओढ्ने कपडा वितरण गरिएको वडाध्यक्ष केसीले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता लिइरहेकाहरु कपडा पाउनेमा परेका छन् । वडा कार्यालयले यही अवसरमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण पनि गरिएको छ । स्वास्थ्य चौकी प्वाङका इन्चार्ज काशिराम खड्का नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, सल्लाह सुझाव तथा स्वास्थ्य चौकीमा उपलब्ध औषधी पनि दिएको छ । सबै जेष्ठ नागरिकको सामान्य भएपनि स्वास्थ्य परीक्षण गरिएको वडा कार्यालयले जनाएको छ ।