Kakhara सबैको खबर सम्पूर्ण खबर
खुम्चेरीमा तरकारी संकलन केन्द्र
त्रिवेणि गाउँपालिका ४ को छोटेकाँडा, भाल्दुलाको इको भिलेज समूह ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाको ४ नम्बर वडाको खुम्चेरीमा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ । महिला पुनस्थापना केन्द्र ओरेक रुकुम पश्चिमको सहयोगमा तरकारी संकलन केन्द्र स्थापना गरिएको हो । आफूहरुले उत्पादन गरेको तरकारी बजार पुर्याउन समस्या भएको भन्दै किसानले तरकारी संकलन केन्द्र स्थापनाको माग गरेका थिए ।

विशेष गरी ओरेकले गठन गरेका समूहमा आवद्ध महिलाहरुले आफ्नो उत्पादन बजार पुर्याउन संकलन केन्द्रको माग गरेका थिए । वडा कार्यालयले पहिला स्वास्थ्य चौकी सञ्चालन गरेको भवनमा तरकारी संकलन केन्द्र बनाइएको छ । स्वास्थ्य चौकीको पूरानो भवन खाली भएपछि त्यसैमा तरकारी संकलनको तत्कालिन व्यवस्थापन गरिएको कार्यवाहक वडाध्यक्ष प्रेमबहादुर बाँठा मगरले जानकारी दिनुभयो ।

तरकारी संकलन केन्द्रका लागि ओरेकले आवश्यक उपकरण सहयोग गरेको छ । ११ वटा क्यारेट, जग, बाल्टी,गुन्द्री ४ वटा, झाडु, डस्टविन, बोरा २५ थान, ३० किलोका तौल काँटा एउटा सहयोग गरिएको छ । ओरेक जिल्ला कार्यक्रम संयोजक दिपा धितालका अनुसार संकलन केन्द्रलाई टेवल, तौलने ढक, रजिष्टर ५ वटा, मार्कर, क्याल्कुलेटर पनि सहयोग गरिएको छ ।

उत्पादित वस्तुले बजार पाओस भन्ने उद्देश्यले संकलन केन्द्रलाई सहयोग गरिएको धितालले बताउनुभयो । संकलन केन्द्र सञ्चालनका लागि स्थानीय समिति बनाइएको छ । त्रिवेणि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगरले संकलन केन्द्रले अब उत्पादित तरकारी घरैमा कुहाउनुपर्ने बाध्यता हट्ने बताउनुभयो । 
 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update