Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा केही दिन देखि फोन नबुझिने समस्या किन छ ?

पछिल्लो एक साता देखि नेपाल टेलिकमका सेवाग्राहीले फोन नबुझिने समस्या झेलिरहेका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगा सहित जिल्लाका विभिन्न ठाउँका सेवाग्राही फोनले राम्ररी काम नगर्ने समस्याबाट पिडित छन् । नेपाल टेलिकमको इन्टरनेटको गतिमा पनि सुस्तता आएको छ । एक अर्कामा सञ्चार गर्न टेलिकमका सेवाग्राहीले सजिलै सकिरहेका छैनन् । एउटै कुरा पुरा गर्न पनि पटक पटक फोन गर्नुपर्ने बाध्यता छ । सितिमिति फोन नलाग्ने र लागेपनि कुरा नबुझिने तथा विचमै फोन काटिने समस्याले सेवाग्राही हैरान बनेका छन् । 

अझै केही दिन सेवाग्राहीले यस्तै सास्ती व्यहोर्नुपर्ने भएको छ । जिल्लाको झुल्नेटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा बिद्युत आपुर्ति बन्द हुँदा समस्या आएको नेपाल दुरसञ्चार कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । सल्यान हुँदै रुकुम पश्चिम भित्रिएको केन्द्रीय प्रशारण लाईन केही समय देखि अवरुद्ध रहेका कारण बिद्युत अभावमा टावर बन्द रहेको उहाँले बताउनुभयो । झुल्नेटाको टावर बन्द हुँदा अन्य टावरमा भार थपिएका कारण फोन तथा इन्टरनेट सेवामा समस्या आएको उहाँको भनाई छ । 

उहाँका अनुसार नेपाल बिद्युत प्राधिकरणले २, ३ दिनमा बिद्युत सुचारु हुने जानकारी दिएका कारण अझै केही दिन फोन र इन्टरनेटमा देखिएको समस्या यथावत रहने छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौरमा निर्माण भएको सव स्टेशन संचालनका लागि यतिबेला बिद्युत लाईन परीक्षणको काम चलिरहेको छ । बिद्युत प्राधिकरणले यसअघि ११ केभि लाइन प्रशारण भइरहेकामा अहिले ३३ केभिको बिद्युत ल्याउने गरी लाईन परीक्षणको काम गरिरहेको छ । जसका कारण बिद्युत आपुर्ति बन्द भएपछि झुल्नेटाको टावर बन्द भएको नेपाल दुरसञ्चार कार्यालय रुकुम पश्चिमले जनाएको छ ।   
 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update