रुकुम पश्चिम र पूर्वमा प्रशारण गर्ने गरी विद्युतको ३३ केभी प्रशारण लाइन रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा पुगेको छ । खारा र सिम्रुतुबीचमा ३३ केभी प्रशारण लाइन पुगेको नेपाल विद्युत प्राधिकरणको रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ । सल्यानको श्रीनगरबाट ३३ केभी क्षमताको विद्युत प्रशारणको काम गत मंसिर १६ गतेदेखि थालिएको थियो ।
नेपाल विद्युत प्राधिकरणको रुकुम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले लाइन चार्ज गर्दै खारा र सिम्रुतुसम्म ल्याई पुर्याएको जानकारी दिनुभयो । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ३, स्थित धैरेनीचौरमा सब स्टेशन बनेपछि सल्यानबाट सोझै ३३ केभी क्षमताको विद्युत प्रशारण लाइन यता ल्याइँदैछ । यस अघि श्रीनगर स्थित सब स्टेशनबाट ११ केभीको मात्रै विद्युत आपूर्ति भइरहेको थियो ।
अब भने रुकुम पश्चिमको सब स्टेशनसम्मै ३३ केभीको विद्युत लाइन जडान हुने छ । त्यसका लागि विद्युत प्राधिकरणले काम गरिरहेको छ । अबको एक हप्तामा उक्त लाइन सब स्टेशनसम्म पुर्याने वितरण केन्द्र प्रमुख भट्टराईले बताउनुभयो । अरु कुनै समस्या नआएपछि अबको हप्ता दिनमै ३३ केभी प्रशारण क्षमताको विद्युत धैरेनीचौर स्थित सब स्टेशनमा पुर्याइ सक्ने उहाँको भनाई छ ।
सब स्टेशन चार्जपछि बल्ल उपभोक्तामा विद्युत प्रशारण गर्ने तयारी रहेको भट्टराईले बताउनुभयो । हाल जाजकोट स्थित कुदु सब स्टेशनबाट मात्रै यहाँसम्म विद्युत आपूर्ति भइरहेको छ । गत मंसिर १६ गतेदेखि नै सल्यान सब स्टेशनबाट यहाँ आउने विद्युत कटौती गरेर ३३ केभीको प्रशारण लाइन चार्जिङको काम भइरहेको छ ।