Kakhara सबैको खबर सम्पूर्ण खबर
पर्यावरणमैत्री नमूना गाउँ बन्दै भाल्दुला र छोटेकाँडा

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४ को भाल्दुला र छोटेकाँडालाई पर्यावरणमैत्री नमूना गाउँ बनाउन लागिएको छ । त्यसका लागि निश्चित मापदण्ड पूरा हुनुपर्छ । तोकिएका मापदण्ड पूरा गरेपछि पर्यावरणमैत्री नमूना गाउँ घोषण गर्ने भनेर हाल आधारभुत काम भइरहेका छन् । त्रिवेणि गाउँपालिका र महिला पुनस्थापना केन्द्र ओरेक रुकुम पश्चिमले यसमा काम गरिरहेका छन् ।

यसका लागि ओरेकले केही वर्षदेखि काम गर्दै आएको छ । महिला समूह गठन गरी समूह मार्फत विभिन्न काम गर्दै आएको ओरेककी जिल्ला संयोजक दिपा धितालले बताउनुभयो । धितालका अनुसार व्यवस्थित गोठका लागि १२ घर परिवारलाई भकारो सुधार मा सहयोग दिइने । यस अघि ११ घरको भकारो सुधारको काम सम्पन्न भइसकेको छ ।

३० घरमा सुधारिएको चुह्लो निर्माण गरिएको छ । ति टोलका हरेक घरमा करेसाबारी निर्माण गरिएको छ । जुठ्यान निर्माण गरिएको संयोज धितालले बताउनुभयो । १५ घर परिवारमा जैविक विषादी निर्माण, ७ घरपरिवारमा व्यवसायिक फलफूल खेती भइरहेको छ ।

१२ घरपरिवारलाई तरकारी खेतीका लागि प्लाष्टिक टनेल सहयोग गरिएको छ । ५ जनालाई बाख्रा र तरकारी तथा ३ जनालाई फलफूल खेतीका लागि बीउ पुँजी समेत सहयोग गरिएको संयोजक धितालले जानकारी दिनुभयो । तरकारी खेतीका लागि सिजन अनुसार बीउ तथा विरुवा वितरण गरिरहेको ओरेकले बताएको छ ।

पर्यावरणमैत्री नमूना गाउँ निर्माणमा अरु विभिन्न गतिविधि भइरहेका छन् । इको भिलेज महिला समूहकी अध्यक्ष खिमा खड्काले आफूहरुले इको भिलेज निर्माणका लागि निरन्तर लागिरहेको बताउनुभयो । नियमित बैठक बस्ने, छलफल गर्ने, देखिएका समस्या समाधानमा लाग्ने गरेको उहाँले बताउनुभयो । 

पर्यावरणमैत्री नमूना गाउँ बनाउन पूरा हुनुपर्ने सूचक
नमूना गाउँ निर्माण गर्न यी ११ सूचक पूरा हुनुपर्ने हुन्छ । यी सूचक पूरा भएपछि पर्यावरणिय नमूना गाउँ घोषणा गर्न सकिन्छ । महिला हिंसा न्युनिकरण, बालबालिकाकामा हुने विभेदको अन्त्य, शिक्षामा सबैको समान पहुँच पुगेको अवस्थामा पर्यावरणमैत्री नमूना गाउँ घोषणा गर्न मिल्छ ।

प्राथमिक स्वास्थ्यमा सबैको समान पहुँच तथा कुपोषण रहित समाज बनेको, सामूहिक नेतृत्व तथा न्यायपूर्ण समाज बनेको, द्धन्द व्यवस्थापनमा समुदायको सहभागिता रहेको सुनिश्चिता पनि पर्यावरणमैत्री नमूना गाउँ घोषणाका सूचक हुन् ।

दिगो बैकल्पिक उर्जाको अधिकतम प्रयोग भएको, व्यवस्थित व्यवसायिक पशुपालन, सघन जैविक खेतीको प्रबद्र्धन र व्यवसायिकरणलाई पनि नमूना गाउँ घोषणामा अनिवार्य भनिएको छ । वातावरण र जैविक विविधताको संरक्षण र प्रबद्र्धन, रैथाने ज्ञान तथा प्रविधिको संरक्षण र प्रबद्र्धन पनि यो पर्यावरणमैत्री गाउँ निर्माणमा नभइ नहुने सूचक हुन् । 
 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update