हेलिकोप्टर मार्फत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १ को चैतिखारा पुर्याइएको डोजरले एक साता पछि सडक खन्न सुरु गर्ने भएको छ । शुक्रबार र शनिबार दुइ दिन लगाएर चैतिखारा पुर्याइएको डोजर जडानको काम सुरु भएको छ ।
वडा नम्बर ३ को खदी गाउँबाट डोजरलाई टुक्रा टुक्रा पारेर चैतिखारा पुर्याइएको छ । उक्त डोजर जडानको काम सुरु भएको आठबीसकोट १ का वडा अध्यक्ष देवबहादुर घर्तीले जानकारी दिनुभयो । डोजर जडान गर्न एक साता जति लाग्ने देखिएको र त्यसपछि सडक निर्माणको काम सुरु हुने उहाँको भनाइ छ ।
अहिलेसम्म सडक सञ्जालमा जोडिन नसकेको वडा नम्बर १ मा सडक पुर्याउनका लागि हेलिकोप्टर मार्फत डोजर ढुवानी गरिएको हो । चैतिखारा पुर्याइएको डोजरले वडा नम्बर १ बाट वडा नम्बर २ तर्फ बाटो खन्ने छ । यता वडा नम्बर २ को स्याला गाउँ देखि वडा नम्बर १ तर्फ सडक निर्माणका लागि अर्को ठेक्का लागेको छ ।
अव दुवै तर्फबाट सडक खन्ने र साईकुमारी मन्दिरमा भेटिने नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । वडा नम्बर १ लाई सडक सञ्जालमा जोड्नका लागि ४० किलोमिटर सडक निर्माण गर्न आवश्यक छ । दुवै तर्फबाट गरेर यो आर्थिक वर्ष भित्रमा वडा नम्बर १ लाई सडकमा जोड्ने नगर प्रमुख केसीले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारबाट आएको करिब ४५ लाख खर्च गरेर वडा नम्बर १ मा डोजर पुर्याइएको नगरपालिकाले जनाएको छ । आठबीसकोट १ सडक सञ्जालमा जोडियो भने जिल्लाका सबै वडामा सडक पुग्ने छ ।