Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणिका ७ वडामा मकै जोन कार्यक्रम 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा मकै जोन संचालन समन्वय समिति गठन गरिएको छ । वडा नम्बर २ सिमु्रतमा आज एक कार्यक्रमका बिच मकै जोन संचालन समन्वय समिति गठन गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सल्यान र प्राविधिक एकाई रुकुम पश्चिमद्धारा यस आर्थिक वर्षमा संचालन हुन लागेको मकै जोन कार्यक्रमका लागि समिति बनाइएको छ ।

धनराज खड्काको संयोजकत्वमा ९ सदस्यीय मकै जोन संचालक समिति गठन भएको हो । जसको सदस्यमा धर्मबहादुर बिक, सीता मल्ल, प्रज्वल ओली, मन्जित खड्का, समिक्षा केसी, चेतना खड्का, मानसिङ खत्री र चम्फा केसी रहनु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाजना, परियोजना कार्यान्वयन एकाईले चालु आर्थिक वर्ष २०७८/०७९ मा त्रिवेणी गाउँपालिकाका ७ वटा वडामा मकै जोन कार्यक्रम संचालन हुन लागेको छ । १, २, ३, ४, ८, ९ र १० नम्बर वडा छनौट गरिएको छ ।

जिल्ला समन्वय समिति तथा स्थानीय तहसंग परामर्श गरी त्रिवेणी गाउँपालिकाका यि वडाहरु छनौट गरिएको हो । मकै उत्पादनका लागि राम्रो सम्भावना भएका वडामा जोन सन्चालन गर्न लागिएको कार्यालयले जनाएको छ । परीयोजनाका नायब प्राबिधिक सहायक हरिकुमार थापाले मकै  जोनमा सहभागी हुने किसानहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update