Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र बाँफिकोटका सबै जनवर्गिय संगठनले प्रशिक्षण कार्यक्रम चलाउने

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिम अन्तर्गत बाँफिकोट गाउँपालिका भित्रका जनवर्गिय संगठनले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएका छन् । बाँफिकोट गाउँपालिका ४, कोटमा बसेको पार्टी र  जनवर्गिय संगठनको सयुंक्त बैठकले सबै जनवर्गिय संगठनको सेल, टोल र वडा, वडामा प्रशिक्षण गर्ने निर्णय गरेको हो । 

अखिल क्रान्तिकारीका गाउँपालिका अध्यक्ष टेकराज रसाइलीले गाउँपालिका पार्टीको आयोजनामा जनवर्गिय संगठनको बैठक बसेको र सबै जवसको प्रशिक्षण गर्ने निर्णय भएको जानकारी दिनुभयो । रसाइलीका अनुसार सेल, टोल र वडा वडामा पुगेर सबै जवसको प्रशिक्षण चलाउने, आवश्यक्ताका आधारमा समिति गठन तथा पुर्नगठनमा लाग्ने गरी निर्णय भएको छ । 

पुस १४ गतेदेखि नै जनवर्गिय संगठनको भेला प्रशिक्षण सुरु गरिने छ । संगठन भएका वडा, टोल, र सेलमा समिति गठन गर्ने निर्णय भएको छ । नभएका जवसका वडा सम्मेलन र पालिका सम्मेलनको तयारीमा जुट्ने निर्णय पनि भएको मगर राष्ट्रिय मुक्ति मोर्चाकी पालिका अध्यक्ष मनकुमारी विष्टले जानकारी दिनुभयो । उहाँ अनुसार अब हरेक दुई महिनाको १ पटक पालिका स्तरीमा जवस र पार्टीको बैठक बस्ने निर्णय पनि भएको छ । 

माओवादी केन्द्रको बाँफिकोट गाउँपालिकाले जनवर्गिय संगठनका भेला, सम्मेलन र प्रशिक्षणमा मुख्य ध्यान लाउने निर्णय गरेको छ ।  दोस्रो सम्मेलनपछि बसेको पुस ८ गतेको पहिलो गाउँपालिका बैठकले पार्टी जवससम्म पुग्ने, क्रियाशिल बनाउने, गठन र पुर्नगठनमा जोड दिने निर्णय गरेको थियो । 

सोही निर्णय बमोजिम पार्टीले पालिका स्थित सबै जवसका इन्चार्ज, अध्यक्ष र सचिवसँग बैठक गरी आवश्यक कार्यक्रम तय गरिएको माओवादी केन्द्रका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।  पार्टीले सबै जवस, पार्टी सदस्य, शुभचिन्तक, समर्थक, विपक्षी पार्टी सबैतिस एक चरण छलफल चलाउने र अर्को चरणमा थप कार्यक्रम तय गरेर अघि बढाउने तयारीमा रहेको अध्यक्ष केसीले बताउनुभयो ।

बैठकमा पार्टी अध्यक्ष चन्द्रबहादुर केसी उपाध्यक्षहरु नरबहादुर खत्री, झरना शाही, शेरु विक, सचिवालय सदस्य सिता खड्का र दक्ष पुनको पनि उपस्थिति रहेको थियो । माओवादीले यस अघि नै सबै वडामा पार्टी प्रशिक्षण गर्ने गरी निर्णय गरिसकेको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update