
रुकुम पूर्वमा हिमपात भएको छ । हिमाली जिल्ला रुकुम पूर्वका विभिन्न ठाउँमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । हिजो देखि विभिन्न ठाउँमा हिमपात भइरहेको छ । वर्षा संगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ ।हिमपात र वर्षाले खेतिपातीमा भने फाईदा गरेको भन्दै किसानहरु हर्षित भएका छन् । चिसो बढ्दा भने जनजीवन कष्टकर बन्न पुगेको छ ।
जिल्लाका तीन वटै स्थानीय तहका विभिन्न ठाउँमा हिमपात भएको छ । तुलनात्मक रुपमा सबैभन्दा बढी हिमपात भने पुथाउत्तरगंगा गाउँपालिकामा भएको छ । गाउँपालिकाका सबै वडामा हिमपात भएको बताईएको छ । त्यस्तै भुमे गाउँपालिका र सिस्ने गाउँपालिकाका विभिन्न ठाउँमा समेत हिमपात भइरहेको छ । अहिलेपनि हिमपात रोकिएको छैन् ।
हल्का वर्षा सहित हिमपात भइरहेको भूमे गाउँपालिका वडा नम्बर १ लुकुमका कमल बुढाले बताउनुभयो । वर्षा संगै भारी मात्रामा हिमपात जारी रहेपछि चिसो अत्यधिक बढेको उहाँले बताउनुभयो । उच्च भूभागहरुमा हिजो राती देखि नै हिमपात सुरु भएपनि लुकुम गाउँमा आज दिउँशो देखि हिमपात भइरहेको उहाँले बताउनुभयो ।
हिमपात भएपछि पठन पाठन पनि प्रभावित बनेको छ । बालबालिका र जेष्ठ नागरिक सबैभन्दा बढी प्रभावित बनेका छन् । लेकमा रहेका भेडी गोठ पनि वेँसी सारिएको छ । हिमपातले डाँडाकाँडा ढाक्न थालेपछि गोठालाहरु भेडा लिएर बेँसी झरिरहेको बुढाले बताउनुभयो ।
त्यस्तै यो वर्ष पहिलो पटक हिमपात भएपछि हिउँमा रमाउन पनि मान्छेहरु हिउँ परेको ठाउँमा पुगिरहेका छन् । विशेष गरी मध्यपहाडि लोकमार्गबाट सजिलै पुग्ने सकिने भूमे १ को लुकुम देखि पञ्चासेसम्म मान्छेहरु गाडि लिएर हिउँ खेल्न पुगिरहेको स्थानीयको भनाई छ ।