मौसम बदली संगै भएको भारी हिमपातले मध्यपहाडि लोक मार्ग अवरुद्ध भएको छ । रुकुम पूर्व र बाग्लुङ जोड्ने खण्ड अवरुद्ध भएको हो । मंगलबार साँझ देखि जारी भारी हिमपातका कारण रुकुम पूर्व र बाग्लुङको सिमाना पातिहाल्ना क्षेत्रमा सवारी आवागमण रोकिएको छ । सडकमा बाक्लो हिउँ जमेपछि बुधबारबाट लोकमार्ग अवरुद्ध भएको हो । हिमपातका कारण बुधबार बिहानैबाट रुकुम पूर्वबाट संघीय राजधानी काठमाडौं सहित देशका विभिन्न ठाउँका लागि गाडिहरु छुट्न नसकेको यातायात व्यवशायिहरुको भनाई छ । हिउँका कारण गाडि आवत जावत गर्न नसक्ने भएपछि लोकमार्ग अवरुद्ध बनेको हो ।
यो खण्ड हरेक वर्ष अवरुद्ध हुने गरेको छ । हिउँदयाममा भारी हिमपात हुने भएका कारण केही महिना मध्यपहाडि लोकमार्ग अनियमित हुने गरेको छ । मध्यपहाडि लोक मार्ग हुँदै रुकुम पूर्वबाट देशका विभिन्न ठाउँमा जाने गाडि चल्छन् । रुकुम पश्चिमबाट समेत राजधानी काठमाडौं, पोखरा लगायतका ठाउँमा पुग्न यो मार्ग भएर छोटो पर्ने भएकाले दैनिक ठूलो संख्यामा यातायातका साधन आउजाउ गर्ने गर्छन् । तर हिमपातका कारण लोकमार्ग अवरुद्ध भएपछि यात्रुहरु समस्यामा परेका छन् । हिमपात जारी रहेकाले लोकमार्ग कहिले संचालन हुन्छ भन्न नसकिने सिस्ने हिमाल यातायात प्रालिका नागेन्द्र पुनले जानकारी दिनुभयो ।