परम्परागत पापिनी मेला तथा माघे संक्रान्तिको अबसरमा मुसीकोट नगरपालिका वडा नम्बर १० को सहीद कामी बुढा–बिजय–छहरा युवा क्लबले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । वडाको सहीद कामी बुढा स्मृति पार्क खर्सुपानीमा खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । पुष २४ गते देखि माघ १ गतेसम्म संचालन हुने गरी खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ । मेलाको अवसरमा खेलकुद तथा कार्यक्रम संचालन गर्न वडा कार्यालयले मुख्य सहयोग गर्नेभएको छ भने अन्य व्यक्तिहरुले पनि सहयोग गर्ने भएका छन् ।
मेलाको अवसरमा महिला पुरुष भलिबल, रसाकसी, लोकदोहोरी, सामुहिक नृत्य, एकल नृत्य, भाले तान्ने, घैटो फोर लगायतका प्रतियोगिता आयोजना गरेको छ । यसका अलावा मेलामा स्थानीय पापिनी नाच, पैसेरु नाच लगायतका नाच पनि प्रस्तुत हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार खेल शुद्ध वडा स्तरीय हुनेछ । सम्पूर्ण खेलाडीले अनिवार्य रुपमा नागरिकता पेस गर्नुपर्ने छ । पुरुष भलिबलको विजेताले नगद ५० हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेताले नगद २५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
सेमिफाईनलमा पुग्ने २ टिमले समान १०/१० हजार नगद सहित कप, मेडल र प्रमाण पत्र पाउने छन् । महिला भलिबलको विजेताले भने नगद १५ हजार कप, मेडल र प्रमाण पत्र, उप विजेताले नगद १० हजार कप, मेडल र प्रमाण पत्र तथा सेमिफाईनलमा पुग्ने २ टिमले समान ५/५ हजार, कप, मेडल र प्रमाण पत्र पाउने आयोजक क्लवका अध्यक्ष नरेन्द्र कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य प्रतियोगिताका विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।