हिमपात भएपछि रुकुम पूर्वमा पठन पाठन प्रभावित बनेको छ । मौसममा आएको बदलीसंगै मंगलबार र बुधबार भएको हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा पढाइ प्रभावित बनेको हो । बाक्लो हिमपात भएपछि बालबालिकाहरु बिद्यालय आउन सकेका छैनन् । ठुला कक्षाका बालबालिकाहरु अलि अलि आएपनि आधारभुत तहका बालबालिकाहरु भने बिद्यालय आउन नसकेको पुथाउत्तरगंगा गाउँपालिका १ मा रहेको पुथाहिमालय मावि मैकोटको प्रध्यानाध्यापक हस्तिमान पुनले जानकारी दिनुभयाे । ‘१, २ फिटसम्म हिउँ जमेको छ, बाटो नै नभएपछि बालबालिकाहरु बिद्यालय आउन सकेका छैनन्, उहाँले भन्नुभयाे ।’ हिमपातका कारण चिसो अत्यधिक बढेकाले पनि बालबालिकाहरु बिद्यालय पुग्न समस्या भएको प्रअ पुनले बताउनुभयाे ।
हिउँले बिद्यालय पनि पुरिएका छन् । बिद्यालय भवन हिउँले छोपिएका छन् । खेल मैदान पुरै सेताम्मे छन् । हिउँ थपिएन भने अझै एक सातासम्म अहिलेको हिउँ पग्लिने अवस्था नरहेको र हिउँ नपग्लिदा सम्म पठनपाठन प्रभावित हुने देखिएको उनले बताउनुभयाे । उहाँका अनुसार साना बालबालिकाहरुलाई चिसोबाट बचाउन घरमै राख्नुपर्ने अवस्था छ । जिल्लाका सबै स्थानीय तहमा हिमपात भएको छ । तर पुथाउत्तरगंगा गाउँपालिकावासी सबैभन्दा बढी प्रभावित भएका छन् । गाउँपालिकाका सबै १४ वटै वडा हिमपातबाट प्रभावित बनेका छन् । हिमपातका कारण जनजिवन कष्टकर बनेको छ ।
गाउँपालिकाका अधिकांश बिद्यालयमा पठन पाठन प्रभावित बनेको छ । गाउँपालिकाले बिद्यालयलाई आफ्नो अनुकुलतामा बिद्यालयमा जाडो बिदा गर्न भनेको छ । अहिले परीक्षा संचालन संचालन भइरहेकाले परीक्षा सकिने वित्तिकै जाडो बिदा गर्ने बिद्यालयहरुले बताएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताउनुभयाे । गाउँपालिकाले बिद्यालय बन्द गर्ने विषयमा निर्णय नगरेको र बिद्यालयलाई आफ्नो अनुकुलतामा बिद्यालय बन्द गर्न भनेको उहाँको भनाई छ ।
हिमपातबाट बच्न तयारी अवस्थामा छौं
रुकुम पूर्वमा ३१ वडा छन् । जसमध्यमा पुथाउत्तरगंगा गाउँपालिकाका सबै १४ वटै वडामा हिमपात हुन्छ । जिल्ला विपद् व्यवस्थापन समितिले निर्धारण गरेको वर्गिकरणमा यस गाउँपालिकाका आधा उच्च जोखिमयुक्त र आधा मध्यम जोखिमयुक्तको सुचिमा राखिएको छ । हिमपातबाट सबैभन्दा बढी प्रभावित हुने पुथाउत्तरगंगा गाउँपालिकाले हिमपातबाट हुने जोखिमलाई कम गर्न तयारी अवस्थामा रहेको बताएको छ ।
उपाध्यक्ष मल्लले हिमपातबाट प्रभावित भएकालाई खाद्यान्न तथा लत्ताकपडाको व्यवस्था गरिएको बताउनुभयाे । ‘अहिलेसम्म प्रभावित भएको भनेर कोही आउनुभएको छैन्, कोही आयो भने अवस्था हेरेर राहात उपलब्ध गराउँछौं, उहाँले भन्नुभयाे ।’ हिमपातबाट बच्न आवश्यक पूर्व तयारीमा रहेको उहाँको भनाई छ ।