रुकुम पश्चिमको गाराघाट स्थित सानीभेरी नदीमाथी बन्नुपर्ने मोटरेबल पुल निर्माण कार्य थालिएको छ । केही वर्षदेखि अलपत्र यो पुल फेरि निर्माण गर्न लागिएको हो । मुसीकोट नगरपालिकाको १ र बाँफिकोट गाउँपालिकाको १० नम्बर वडा जोड्ने गरी यो पुलको ठेक्का लागेको थियो ।
ठेक्का सम्झौता भई पुल निर्माण थालिएपनि फेरि बीचमै पुल निर्माण कार्य रोकिएको थियो । वारीपारी एक/एक वटा पिल्लर निर्माण गरेर पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम गर्न बन्द गरेको थियो । तर पछिल्ला केही दिनदेखि यहाँ फेरि काम सुरु भएको छ ।
बीचको पिल्लर बनाउनका लागि आधारभुत काम भइरहेको छ । पुलको डिजाइन चेन्ज भएपछि फेरि काम थालिएको ठेकेदार कम्पनी नागार्जुन कन्ट्रक्शन कम्पनीका इन्जिनियर विरेन्द्र शाहीले बताउनुभयो । यस अघि पायल फाउण्डेशनवाला पुल बनाउनुपर्नेमा अब ओपन फाउण्डेशवाला पुल बनाउनुपर्ने छ ।
पायल फाउण्डेशनवाला काम गर्न नसकिने भन्दै ठेकेदार कम्पनीले डिजाइन चेन्ज गर्नुपर्ने माग गरेको थियो । लामो समयपछि चौरजहारी सडक डिभिजन कार्यालयले पुलको डिजाइन चेन्ज गरिदिएपछि ठेकेदारले पुनःकाम सुरु गरेको छ । ८० मिटर लामो पुल निर्माणका लागि ठेकेदार कम्पनी र चौरजहारी सडक डिभिजन कार्यालयबीच झण्डै ११ करोडमा सम्झौता भएको छ ।
यो पुल निर्माण भएपछि मध्यपहाडी लोकमार्ग भएर बाँफिकोट, आठबीसकोट र पिपल भएर रुकुमकोट पुग्नेहरुलाई सजह हुने बताइएको छ । अर्कोतर्फ भेराखेत निर्माण हुने विद्युत सब स्टेशनका लागि पनि यो पुल महत्वपूर्ण मानिएको छ । २०७३ मा सम्झौता भएको यो पुलको निर्माण कार्य २०७५ मा सकिनुपर्ने सम्झौता थियो ।