मंसिरे पूर्णिमा अर्थात कुनाखेत मेलाको अवसरमा आयोजना गरिने ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न भएको छ । गत वर्षदेखि सुरु गरिएको यो प्रतियोगिता यो वर्ष पनि आयोजना गरिएको थियो । बाँफिकोट गाउँपालिका २, स्थित कुनाखेत मेलाको अवसर पारी प्रतियोगिता गरिएको थियो । कोरोना भाइरसका कारण यो वर्ष मेला नलागेपनि ब्याडमिन्टन प्रतियोगिता भने आयोजना भएको थियो । दोस्रो संस्करणदेखि महिला ब्याडमिन्टन पनि सुरु गरिएको छ । यो वर्ष महिला तथा पुरुष ब्याडमिन्टन आयोजना गरिएको थियो ।
१२ समूहले सहभागिता जनाएको पुरुष डबल ब्याडमिन्टनतर्फ राजु विक र मनोज विकको जोडी प्रथम भएको छ । महेशकुमार गुरुङ र चन्द्रबहादुर केसीको जोडीलाई २–१ को सेटमा पराजित गर्दै राजु र मनोजको जोडी प्रथम बनेको हो भने महेशकुमार र चन्द्रबहादुरको जोडी दोस्रो भयो । सौगात मल्ल र लोकेन्द्र पुनको जोडीलाई हराएर मोहन बोहरा र सिदार्थ केसीको जोडी तेस्रो भएको छ । प्रथम आउने जोडीले नगद दश हजारको साथमा प्रमाण पत्र, दोस्रो हुने जोडीले नगद सात हजार र तेस्रो हुने जोडीले नगद ५ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेको छ ।
५ जोडीले सहभागिता जनाएको महिला ब्याडमिन्टन प्रतियोगितामा कल्पना दाहाल र रिता खत्रीको जोडि प्रथम भयो भने विना गौतम र जुना विकको जोडी दोस्रो भएको छ । खिमा खड्का र दिपा खत्रीको जोडी तेस्रो भएको छ । प्रथम आउने जोडीले पाँच हजार, दोस्रोले ती हजार र तेस्रो आउने जोडीले दुई हजार पुरस्कारको साथमा प्रमाण पत्र प्राप्त गरेको छ । विजेता जोडीलाई वडाध्यक्ष धनबहादुर खत्रीले नगद र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । वडा खेलकुद विकास समितिले उक्त प्रतियोगिता आयोजना गरेको थियो ।