Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा मतदाताको संख्या १ लाख नाघ्याे

मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम अन्तरगत रुकुम पश्चिममा ४ हजार ८ सय ३१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । मंसिर १७ देखि पौष ९ गते सम्म दुई चरणमा सञ्चालन भएको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम अन्तगत ५ वटा पालिकामै पुगेर मतदाता नामावली संकलनको काम गरिएको थियो । 

मंसिर १७ गते देखि पौष ९ गते सम्म मुसीकोट नगरपालिका बाहेकका सबै पालिकामा निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरी मतदाता नामावली संकलनको काम गरेको थियो । जस अन्तरगत बाँफिकोट गाउँपालिकामा ४ सय ५० महिला  र ३ सय ८६ पुरुष गरि ८ सय ३६ जनाले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका छन् । 

त्यस्तै सानीभेरी गाउँपालिकामा ४ सय २३ महिला र ४ सय ५० पुरुष गरी ८ सय ७३ जना, आठविसकोट नगरपालिकामा ४ सय ४१ महिला र  ५ सय ९२ पुरुष गरी ८ सय ३६ जना, चौरजहारी नगरपालिकामा ५ सय ६३ महिला र ६ सय १२ पुरुष गरी ११ सय ७५ जना र त्रिवेणि गाउँपालिकामा ४ सय ४५ महिला र ४ सय ६९ पुरुष गरी ९ सय १४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो ।

सबै भन्दा बढि चौरजहारी नगरपालिकामा ११ सय ७५ जनाले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका छन् भने सबै भन्दा कम बाँफिकोट गाउँपालिकामा ८ सय ३६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । १८ वर्ष उमेर पुगेका सबै जनालाई मतदाता नामावलीमा नाम दर्ता गराउदै आएको निर्वाचन आयोगले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नाम संकलनको काम गरिरहेको छ ।

मंसिर मसान्त सम्म ९८ हजार ४ सय ८७ जनाको मतदाता नामावलीमा नाम दर्ता भएकोमा स्थानीय तहमा गरिएको अभियानबाट ४ हजार ८ सय ३१ थप भए पछि जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या १ लाख ३ हजार ३ सय १७ पुगेको छ । 

निर्वाचन आयोगले स्थानीतहको निर्वाचनको प्रस्ताव गरे पछि भने पछिल्लो समय जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड लाग्न थालेको छ । मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा छुटेका पनि जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा नाम दर्ता गराउन आउनेको भिड लागेको हो ।
 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update