श्रीमतीको झुन्डिएर मृत्यु भएको भनेका श्रीमानमाथी थप अनुसन्धान थालिएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९, का दिपक खनालमाथी प्रहरीले थप अनुसन्धान थालेको हो । उनिमाथी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेको छ ।
शुक्रबार राति उनकी २६ वर्षीया श्रीमती कमला खनाल आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । गाउँलेले श्रीमान श्रीमती सँगै भएकाले बलो कमला एक्लै झुन्डिन नसक्ने भन्दै घटना शंकास्पद भएको बताएका थिए । घटनापछि घटना स्थल पुगेको प्रहरीले दिपकलाई पक्राउ गरेको हो ।
शनिबार प्रहरीले दिपकलाई जिल्ला ल्याएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले दिपकमाथी थप अनुसन्धान थालिएको बताउनुभयो । घटना अनुसन्धान भइरहेकाले थप कुरा भन्न नमिल्ने उहाँले बताउनुभयो । बेलुकाको खाना खाएपछि ४ महिनाको बालक सहित दिपक र कमला आफ्नो सुत्ने कोठामा गएका थिए । कोठामा गएको केही समयमा कमला झुन्डिएको खबर सार्वजनिक भएको थियो ।