Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा १४ मजदुर हिउँमा फसे, उद्धारका लागि हेलिकोप्टर माग 

वडाकाे बजेटबाट घोडेटो बाटो निर्माणमा खटिएका १४ जना मजदुर हिउँमा फसेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्माको घुसदुङमा एक साता देखि स्थानीय १४ मजदुर हिउँमा फसेका हुन् । गत मंगलबार र बुधबार भएको भारी हिमपातका कारण बाटो निर्माण गर्न गएका मजदुरहरु आफु बसेको ठाउँबाट निस्कन सकेका छैनन् ।

वडा नम्बर २ बाट घोडेटो बाटोका लागि बजेट विनियोजन भएको थियो । उक्त बाटो निर्माणका लागि उनिहरु खटिएका थिए । तर मौसममा आएको परिवर्तन संगै भारी मात्रामा हिउँ परेपछि उनिहरु घर फर्किन पाएका छैनन् । उनिहरु आफुहरु बसेको ठाउँमै फसेको वडा नम्बर २ का वडा सदस्य मनराम झाँक्रीले बताउनुभयो । 

उहाँका अनुसार आईतबार मात्र मजदुरहरु फेसेको जानकारी प्राप्त भएको हो । विकट ठाउँ र सूचनाको पहुँचभन्दा बाहिर रहेकाले हिउँमा फसेको धेरै दिनपछि मात्र जानकारी आएको बताईएको छ । 

हिउँमा अलपत्र पर्ने को को हुन् ?
हिउँमा फस्नेहरुमा जोकप्रसाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन रहनुभएको छ । उनिहरु एक साता देखि ओढारमा वसिरहेका छन् । आफुहरुसंग भएको खाना पनि सकिएको र छिट्टै उद्धार नहुने हो भने थप समस्या हुने भन्दै उनिहरु चिन्तामा परेका छन् ।  

आज उद्धार हुन्छ 
हिउँमा फसेकाहरुको आजै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो । ‘हिउँमा फसेका मजदुरहरुको उद्धारका लागि हेलिकोप्टर पठाइदिन गृहमन्त्रालयलाई आग्रह गरेका छौं, बास्कोटाले भन्नुभयो–सकभर उनिहरुको आजै उद्धार हुन्छ ।’ उनिहरु फसेको ठाउँ पहिचानको प्रयास भइरहेको र ठाउँ पहिचान भएमा उद्धार गर्न सहज हुने उहाँको भनाई छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update