Kakhara सबैको खबर सम्पूर्ण खबर
मोबाईलको बत्ति बालेर अप्रेशन 

दुई व्यक्तिले दुई तिरबाट मोबाइलकाे बत्ति बालेर उज्यालो दिईरहेका छन् । र दुईजना स्वास्थ्यकर्मीले अप्रेशन गरिरहेका छन् । यो तस्बिर जिल्ला अस्पताल रुकुम पश्चिमको अप्रेशन कक्षको हो । यसरी अप्रेशन भएको चित्र देख्दा पक्कै पनि तपाईको ज्यान सिरिङ्ग भयो होला । तर जिल्ला अस्पतालमा अहिले मोबाइलकै लाइट बालेर अप्रेशन हुने गरेको छ । यो तस्बिर सोमबार रातीको हो । गम्भिर अवस्थाकी एक गर्भवति महिलाले सामान्य तरिकाले बच्चा जन्माउन नसक्ने भएपछि अप्रेशन गर्नुपर्ने भयो । तर बत्ति थिएन् ।

अस्पतालको जेनेरेटर बिग्रिएको धेरै भयो । त्यसपछि विशेषज्ञ डाक्टर केहल बिक्रम जिसी नेतृत्वको स्वास्थ्यकर्मीको टोली मोबाइलकै भरमा अप्रेशन गर्न कस्सियो र अप्रेशन सफल पनि भयो । ‘तर थाहा छैन् यसरी कतिञ्जेलसम्म अप्रेशन सफल हुने हो । कुन चाहीले बत्ति नभएकै कारण ज्यान गुमाउनुपर्ने हो, डाक्टर जिसीले भन्नुभयो ।’ केन्द्रीय प्रशासन लाईनको बिजुली नियमित छैन् ।

जिल्लाको भाग्लेमा उत्पादन भएको बिद्युत जडानका लागि पहल गर्दा पनि कतैबाट सुनुवाई नभएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकीले जानकारी दिनुभयो । केन्द्रीय प्रशारण लाईन भरपर्दो नभएपछि भाग्लेको बिजुली जडान गरिदिन सम्बन्धीत निकायमा बारम्बार भनेको तर सुनुवाई नभएको उहाँले बताउनुभयो । अस्पतालका दुवै जेनेरेटर बिग्रिएकाे उहाँले बताउनुभयाे । ‘हामीसंग भएका दुबै जेनेरेटर बिग्रिए, केन्द्रीय प्रशारण लाइनकाे बत्तिकाे भाल्टेज कम भएकाले कुनै उपकरण चल्दैनन्, उहाँले भन्नुभयाे ।’ 

अप्रेशन जस्तो संवेदनशिल कामका लागि पनि बत्ति नहुँनु निकै दुःखद भएको अस्पतालका विषेशज्ञ डाक्टर जिसी बताउनुहुन्छ । जिसी महिला तथा स्त्री रोग विशेषज्ञ हुनुहुन्छ । जिल्लामा विशेषज्ञ डाक्टर भएपछि जटिल प्रकृतिको प्रसुतिका लागि जिल्ला बाहिर जानु पर्दैन् । जिल्लामै अप्रेशन हुन्छ । तर बिजुली नुहुँदा भने जोखिम मोलेर अप्रेशन गर्ने गरिएको छ । ‘अप्रेशन गर्नुपर्ने गर्भवतिहरुको लाईन छ, दिनकै अप्रेशन गर्नुपर्ने अवस्था छ, उहाँले भन्नुभयो–तर हाम्रो अवस्था यस्तो छ, कसरी अप्रेशन गर्नु ।’ यसबारेमा अस्पताल प्रशासन र अस्पताल प्रशासन हुँदै जिल्ला प्रशासन सहित अन्य निकायमा जानकारी गराईएको तर कतैबाट चासो नभएको उहाँको गुनासो छ ।  

बिद्युतको अभावमा अस्पतालका अन्य सेवा समेत प्रभावित बनेका छन् । बिल काट्न र स्वास्थ्य बीमाको सेवा दिन पनि समस्या भएको अस्पताल स्रोतको भनाई छ ।   
 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update