Kakhara सबैको खबर सम्पूर्ण खबर
पार्टी र विद्यार्थीमा लिङदेन र समालको ‘गज्जव’को संयोग
राप्रपाका नवनियुक्त केन्द्रीय सदस्य केशवचन्द्र समाल ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३१ केन्द्रीय सदस्य मनोनित गर्यो । विभिन्न क्षेत्र र क्लष्टरलाई समेटेर मनोनित गरिएका केन्द्रीय सदस्यमा रुकुम पूर्वका केशवचन्द्र समाल पनि पर्नुभएको छ । २९ औं नम्बरमा केन्द्रीय सदस्य मनोनित समाल र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनबीच गज्जवको संयोग छ ।

लिङदेन विद्यार्थी अध्यक्ष हुँदा समाल केन्द्रीय सदस्य र लिङदेन पार्टी अध्यक्ष हुँदा समाल पनि पार्टीको केन्द्रीय सदस्य बन्नु भएको छ । समालले यसलाई संयोगको रुपमा लिनुभएको छ । ‘२०४९/०५० तिर राजेन्द्र दाइ विद्यार्थीको संस्थापक अध्यक्ष हुनुभयो म संस्थापक केन्द्रीय सदस्य भएँ,’ समालले भन्नुभयो, ‘अहिले उहाँ पार्टी अध्यक्ष हुँदा म केन्द्रीय सदस्यमा मनोनित भएँ यो एउटा संयोग नै भयो ।’

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष लिङदेन बन्दा समाल केन्द्रीय सदस्य बन्नुभएको थियो । समाल विद्यार्थी संगठनबाट पार्टी राजनीतिमा फर्किनुभएको थियो । २०६२ सालमा उहाँ जिल्ला कार्य समितिको सचिव हुनुहुन्थ्यो भने त्यसपछिका हरेक महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन हुनु भएको थियो ।

यस अघिका चौथो महाधिवेशनसम्म प्रतिनिधि चयन हुनु भएका समाल एकताको पहिलो महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि चयन हुनु भएको थियो । यही एकताको पहिलो महाधिवेशनपछिको कार्य समितिले शाहलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उहाँ रुकुम पूर्वबाट राप्रपाको पहिलो केन्द्रीय सदस्य बन्नुभयो ।

यस अघि निर्वाचनका क्रममा रुकुम पश्चिमबाट दिपक मल्ल केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो । हाल पार्टी सबै प्रदेशमा सपथ ग्रहण र कार्यकर्ता प्रशिक्षणमा रहेको केन्द्रीय सदस्य समालले बताउनुभयो । आफूहरुको पनि सपथ ग्रहणपछि पार्टीका नियमित कार्यक्रममा जोडिने उहाँको भनाई छ । 
 

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update