रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाका सर्वसाधारणले विद्युत रिचार्जमा सास्ती खेप्दै आएका छन् । विशेष गरी २ नम्बर वडाको माथिल्लो क्षेत्रका उपभोक्ता यसबाट समस्यामा छन् । विद्युत नियमित हुन्छ तर गाउँमै विद्युतको रिचार्ज नपाइने समस्याले उपभोक्ताले हैरानी व्यहोर्नु परिरहेको छ । सिमु्रुतुखोला लघु जलविद्युत आयोजनाले सबैलाई रिचार्ज गर्ने स्मार्ट मिटरबक्स वितरण गरेको छ ।
रिचार्ज गरेको रुपैयाँ सकिएपछि अर्को रिचार्ज गर्न सिम्रुतु नै झर्नुपर्ने बाध्यता रहेको उपभोक्ताहरु बताउँछन् । एक उपभोक्ता डिल्लिरमण ओलीले विद्युतको रिचार्ज गर्न समस्या भइरहेको बताउनुभयो । रिचार्ज नगरेपछि विद्युत लाइन काटिन्छ । विद्युत लाइन काटिनु पूर्व नै रिचार्जका लागि सिम्रुतु पुग्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
अर्का उपभोक्ता नवराज ओलीले गाउँमै रिचार्जको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । विद्युत महशुल रिचार्ज गर्न साढे २ देखि ३ घण्टा हिड्नुपर्ने बाध्यतामा रहेको उहाँको भनाई छ । उक्त विद्युत आयोजनाले न्युनतम मासिक एक सय अर्थात प्रति युनिट ८ रुपैयाँका दरले महशुल लिने गरेको छ । रिचार्ज गर्न ढिला हुने अवस्थामा विद्युत लाइन काटिने भएपछि त्यस अगावै रिचार्ज गर्न सिम्रुतु पुग्नुपर्ने बाध्यतामा उपभोक्ता छन् । यो आयोजनाले उपभोक्तालाई स्मार्ट मिटरबक्स वितरण गरेको छ ।