Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पश्चिमको अधिवेशन आज

नेकपा एमालेले आज देशका अधिकांश जिल्लाको अधिवेशन गर्दै छ । विशेष कारणस केही जिल्ला बाहेक अधिकांश जिल्लामा आज जिल्ला अधिवेशन गर्ने तयारीमा एमाले छ । रुकुम पश्चिममा आजै अधिवेशन हुन लागेको छ ।

सदरमुकाम खलंगा स्थित बागबजारमा रहेको पार्टी कार्यालयमा आठौं जिल्ला अधिवेशनको तयारी छ । मध्यान्ह १२ बजे अधिवेशन उद्घाटन हुने अधिवेशन आयोजक कमिटिले जनाएको छ । अधिवेशनका लागि केन्द्रीय सदस्य तिर्था गौतम र चन्द्रबहादुर विक लगायतका नेता जिल्लामै छन् ।

अधिवेशन आयोजक कमिटि संयोजक टंकप्रसाद ओलीले ४ सय बढी प्रतिनिधिहरुको उपस्थितिमा अधिवेशन हुने जानकारी दिनुभयो । जिल्ला अधिवेशन आयोजक कमिटिका २ सय ७५ र अरु प्रतिनिधि गरी ४ सय बढी प्रतिनिधिहरु अधिवेशनमा सहभागि हुने उहाँले बताउनुभयो ।

रुकुम पूर्व को अधिवेशन भने एक महिनापछि सारीएको छ । आगामी माघ २२ र २३ गते जिल्ला अधिवेशन आयोजना गरिएको जिल्ला कमिटि सचिव लिलामणि गौतमले जानकारी दिनुभयो । हिमाली जिल्लाको विशेषाधिकार उपयोग गरेर अधिवेशन पछि सारिएको सचिव गौतमले बताउनुभयो ।

हिमाली जिल्लाले आफ्नो उपयुक्त समयमा गर्न सक्ने व्यवस्था अनुसार नै जिल्ला कमिटिको बैठकले अधिवेशन पछि सारेको हो । पुस १० गतेको जिल्ला कमिटि बैठकले अधिवेशन सार्ने निर्णय गरेको थियो । लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट गर्न भने यही २८ गते जिल्ला स्तरीय कार्यकर्ता भेला डाकिएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update