नेकपा एमाले रुकुम पश्चिमको आठौं जिल्ला अधिवेशन सुरु भएको छ । सदरमुकाम खलंगाको बागबजार स्थित पार्टी कार्यालय प्रांगनमा अधिवेशनको उद्घाटन शत्र चलिरहेको छ । एमाले अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि मानेर अधिवेशन उद्घाटन गरिएको थियो ।
जिल्ला अधिवेशनको व्यानर पढेर विशेष अतिथि केन्द्रीय सदस्य तिर्था गौतमले अधिवेशन उद्घाटन गर्नुभएको थियो । जिल्ला अधिवेशन आयोजक कमिटि संयोजक टंकप्रसाद ओलीको अध्यक्षता र मनविर घर्तीको सञ्चालनमा अधिवेशन उद्घाटनको कार्यक्रम भइरहेको छ ।
अधिवेशनमा गौतमको साथै केन्द्रीय सदस्य चन्द्रबहादुर विक, प्रदेश कमिटिका सदस्यहरुको आतिथ्यता छ । कार्यक्रममा रुकुम पूर्व एमाले सचिव लिलामणि गौतम, कर्णाली प्रदेश सदस्य नारायणकुमार शाह, विद्यापती रिजाल, एमालेका केन्द्रीय सल्लाहकार गोविन्द केसी, मुक्ति समाजका केन्द्रीय सदस्य शशिराम परियार लगायतको आतिथ्यता रहेको थियो ।
उद्घाटन पछि हुने बन्द शत्रले नयाँ नेतृत्व चयन गर्ने संयोजक ओलीले बताउनुभयाे । अधिवेशनले ७५ सदस्यीय जिल्ला कमिटि निर्माण गर्नेछ । अधिवेशनमा २ सय ७५ सदस्यीय जिल्ला कमिटि आयोजक सदस्य तथा प्रतिनिधि गरी ४ सय बढी सहभागि हुनेछन् ।