रुकुम पूर्व सिस्ने गाउँपालिकाले आयोजना गरेको दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । आधारभुत र माध्यामिक तह कक्षा ६ देखि १० सम्म अध्यापन गराउने अंग्रेजी विषयका शिक्षकहरुको क्षमता विकासका लागि हिजो देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । गाउँपालिकाभित्र रहेका अंग्रेजी विषयका शिक्षकहरुलाई थप दक्ष र सक्षम बनाउने उदेश्यले तालिमको आयोजना गरिएको थियो ।
दुई दिनसम्म चलेको तालिमले अंगे्रजी विषयका असजिला कुरालाई समाधान गर्न सहयोग गरेको जनता मावि पोखराका प्रधानाध्यापक कलु खड्काले बताउनुभयो । तालिम छोटो भएपनि अन्तरकृयाको माध्यमबाट असजिला विषयबस्तुमा केन्द्रित भएर छलफल गर्दा समस्याको समाधान गर्न सजिलो भएको उहाँको भनाई छ । जटिल विषयवस्तुको समस्या समाधान गर्न क्षमता विकास तालिमले महत्वपुर्ण भुमिका खेलेको तालिममा सहभागि शिक्षकहरुले बताउनुभएको थियो ।
भाषिक रुपमै जटिल तर अनिवार्य अंग्रेजी विषयका अप्ठयारा विषयवस्तुलाई केन्द्रमा राखि तालिमको सहजिकरण गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले बताउनुभयो । पठन पाठनमा सहजता ल्याइ शैक्षिक गुणस्तर सुधारमा गर्ने उदेश्यले गाउँपालिकाले तालिमको आयोजना गरेको हो । दुई दिनसम्म चलेको तालिमको सहजिकरण ताहाचल क्याम्पस काठमाडौका प्राध्यापक मणिराम शर्माले गर्नुभएको थियो । तालिममा गाउँपालिका भित्रका १६ सामुदायिक र २ संस्थागत गरि १८ वटा विद्यालयका विषयगत शिक्षकहरुको सहभागिता रहेको थियो ।