Kakhara सबैको खबर सम्पूर्ण खबर
संसद विघटनको विरोधमा सानीभेरीमा प्रदर्शन, भोली त्रिवेणि र बाँफिकोटमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिले संसद विघटनको विरोधमा पालिका स्तरमा प्रदर्शन गरिरहेको छ । जसअन्तरगत आज सानीभेरी गाउँपालिकामा विरोध प्रदर्शन भएको छ । सिम्लीमा प्रचण्ड–माधव नेपाल समूहको नेकपाले आईतबार दिउँसो प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको विरुद्धमा नेकपा रुकुम पश्चिमले चर्को विरोध प्रर्दशन गरिरहेको छ । गाउँपालिकाका बिभिन्न ठाउँबाट आएका नेकपाका कार्यकर्ता तथा शुभ चिन्तकहरुले विभिन्न खाले नारा लगाउँदै प्रर्दशन गरेका थिए । नेकपाको जिल्ला कमिटिको निर्णय अनुसार नेकपा सानीभेरी गाउँपालिकाले पनि प्रदर्शन गरेको हो ।

सबै वडाहरुबाट जुलुस सहितको टोली प्रर्दशनमा सहभागि भएको थियो । पेदीबाट सुरु भएको जुलुस सिम्लीमा पुगेर कोण सभामा परिणत भएको थियो । संविधानमा हुँदै नभएको व्यवस्था छ भनेर प्रतिनिधि सभा विघटन गर्नु भनेको देशलाई प्रतिगमनतिर धकेल्नु भएको वक्ताहरुको भनाई थियो । पार्टीका गाउँपालिका इञ्चार्ज केदार बिष्टको अध्यक्षतामा भएको सभालाई नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज शेरवहादुर केसी, प्रदेश कमिटि सदस्य तथा जिल्ला अध्यक्ष गोपाल शर्मा, प्रदेश कमिटि सदस्य नरबहादुर पुन, पहलसिङ घर्ती, लगायतले सम्बोधन गर्नुभएको थियो ।

भोली बाँफिकोट र त्रिवेणिले प्रदर्शन गर्ने
यसैविच भोली बाँफिकोट र त्रिवेणिले विरोध प्रदर्शन गर्दै छन् । आज बसेका दुई पालिकाको पार्टी बैठकले भोलीको प्रदर्शनलाई ब्यापक बनाउने निर्णय गरेका छन् । बाँफिकोटले वडा नं. ४ को नेटाबजारमा १० वटै वडाको उपस्थितिमा व्यापक प्रदर्शन गर्ने निर्णय गरेको छ । यसका अलावा बैठकले पुष २७ गते सबै वडा स्तरमा प्रशर्दन गर्ने र २९ गते हुने जिल्ला स्तरीय पार्टी प्रशिक्षण भेलामा तोकिएका व्यक्तिलाई सहभागि बनाउने पनि निर्णय गरेको छ ।

वडाध्यक्ष कबिराम खत्रीको अध्यक्षमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज बसन्त शर्मा, प्रदेश कमिटि सदस्य महेन्द्र केसी, देवि ओली, धर्मवहादुर केसी र इन्दिरा बुढा लगायतको सहभागिता रहेको थियो । त्यस्तै नेकपा त्रिवेणि गाउँपालिका कमिटिले पनि भोलीको विरोध प्रदर्शनलाई व्यापक बनाउने निर्णय गरेको छ । त्रिवेणिले वडा नं. २ को सिम्रुतुमा विरोध प्रदर्शन गर्दै छ । यसका लागि १० वटै वडाबाट र्याली सहित कार्यकर्ता उतार्ने पार्टीको तयारी छ ।

साथै बैठकले सदस्यता नविकरण गर्ने, पुष २७ गतेसम्म वडा र टोल कमिटिका बैठक र संसद विघठनको विरोधमा प्रदर्शन गर्ने र २९ गते जिल्लामा हुने पार्टी प्रशिक्षण कार्यक्रममा गाउँपालकाबाट पनि सहभागिता जनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष गणेश खड्काको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजकुमार शर्मा, जिल्ला सचिव विमलकुमार पुनमगर लगायतको नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेकपा रुकुम पश्चिमले संसद विघटनको चर्को विरोध गरिरहेको छ ।

चर्को प्रदर्शन
पुष १४ गते जिल्ला स्तरीय भेला गरेको नेकपाले पार्टी जिल्ला कमिटिको निर्णय अनुसार पालिका, वडा तथा टोल स्तरमै बैठक, भेला र विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । जसअनुसार अहिलेसम्म आठबीसकोट र सानीभेरीमा विरोध प्रदर्शन भइसकेको छ भने भोली त्रिवेणि र बाँफिकोटको प्रदर्शन भए चौरजहारी र मुसीकोटमा बाँकी रहन्छ ।

मुसीकोटमा जिल्ला स्तरीय प्रदर्शन भएकाले वडास्तरीय मात्र गर्ने र चौरजहारीमा पुष २१ गते विरोध प्रदर्शन हुने नेकपाका जिल्ला सचिव बिमलकुमार पुनले जानकारी दिनुभयो । मुसीकोटमा २१ र २२ गते वडा नं. १ देखि ५ सम्म विस्तारीत बैठक तथा भेला हुने र अन्य वडामा विरोध प्रदर्शन र बैठक हुने उहाँको भनाई छ ।

पार्टीले पालिका स्तरीय प्रदर्शनका लागि नेताहरुको कार्य विभाजन गरेको छ । केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजकुमार शर्मा र सचिव बिमलकुमार पुनलाई मुसीकोट र त्रिवेणि, केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज शेरवहादुर केसी र जिल्ला अध्यक्ष गोपाल शर्मालाई सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा तथा केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज बसन्त शर्मा र प्रदेश कमिटि सदस्य महेन्द्र केसी र देवि ओलीलाई खटाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update