रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा जनावरको महामारीजन्य रोग नियन्त्रणको लागि निशुल्क खोप शिविर सुरु भएको छ । आज नगरपालिका वडा नम्बर ७ साँखदहबाट शिविर सुरु भएको हो । वडा नम्बर ६, ७ र ८ का किसानलाई लक्षित गरी शिविर सुरु भएको हो ।
साँख दहमा भएको शिविरबाट ७७ जना किसानले सेवा लिएका छन् । किसानले आफ्नो घरमा पालेका कुकुर र बिरालोलाई खोप लागाउन शिविरमा ल्याएका थिए । ८३ वटा कुकुर र ३ वटा विरालोलाई रेविज विरुद्धको खोप लगाइएको छ । त्यस्तै आन्तरिक परजिवि नियन्त्रणको लागि औषधी वितरण पनि गरिएको छ ।
शिविरमा पशु सेवा प्राविधिक शिवराज महतारा, नायव पशु प्राविधिक राजु केसीले सेवा प्रवाह गरिरहनु भएको छ । मुसीकोट नगरपालिका पशु सेवा कार्यालयको आयोजना र नेपाल पाराभेटनरी एण्ड लाईभ स्टक एसोसेसन जिल्ला कार्य समितिको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । नगरपालिकाका विभिन्न वडाका किसानलाई पायक पर्ने ठाउँमा शिविर सञ्चालन गरिने भएको हो ।