सहिद ताराबहादुर नेपालीका छोरा हिरासिङ नेपालीले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तर्गत बाँफिकोट गाउँपालिकाले ६ नम्बर वडामा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा नेपालीले माओवादीमा प्रवेश गर्नु भएको हो ।
माओवादी केन्द्रका नेता महेन्द्र केसीले नेपालीलाई पार्टी प्रवेश गराउनु भएको हो । उहाँ स्वर्गिय नैनसिङ दमाइको नाती हुनुहुन्छ । नैनसिङ नेपाली कांग्रेसको स्थापित नेता हुनुहुन्थ्यो । कांग्रेसबाटै उहाँले प्रधानपञ्च हुँदै जिल्ला सदस्य सम्मको निर्वाचन जित्नु भएको थियो ।
सोही कार्यक्रमबाट गौरब कुसारी पूरानै घरमा फर्कनु भएको छ । केही दिन अघि नेपाली कांग्रेसमा जानु भएका उहाँ फेरि माओवादी केन्द्रमै फर्कनु भएको हो । माओवादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले पार्टीले वडा वडामा पार्टी प्रशिक्षण चलाइरहेको र यही क्रममा माओवादीमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनुभयो । उहाँले पार्टी संगठन विस्तार, भातृ संगठन विस्तार गठन र पार्टी प्रशिक्षणको कार्यक्रम चलिरहेको जानकारी दिनुभयो ।
मग्माको कार्यक्रममा नेता केसी, उपाध्यक्ष नरबहादुर र गाउँपालिकाका उपाध्यक्ष मनकला पुन लगायतको उपस्थिति रहेको थियो । पार्टी प्रशिक्षणको अध्यक्षता वडा अध्यक्ष हरिबहादुर खत्री र सञ्चालन सचिव खम्बु खत्रीले गर्नुभएको थियो । भोली ८ गते ८ नम्बर वडामा प्रशिक्षण कार्यक्रम हुने माओवादी केन्द्रले जनाएको छ ।