Kakhara सबैको खबर सम्पूर्ण खबर
सरकारी सेवा सुधार प्राथमिकतामाः प्रजिअ घिमिरे
प्रजिअ घिमिरे ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सेवा सुधारमा प्राथमिकताका साथ लाग्ने बताउनुभएको छ । रुकुम पश्चिममा सरुवा भएर आएपछि जिल्लाका क्रियाशिल सञ्चारकर्मिसितको छलफलमा प्रजिअ घिमिरेले सर्वसाधारणलाई सहज हुने गरी, छरितो र सर्वसुलभ सेवा प्रवाहमा विशेष ध्यान दिने बताउनुभयो । वेथितिलाई थितिमा राख्नका लागि आफ्नो निरन्तर प्रयास रहने भनाई उहाँको छ ।

जिल्ला पुगेदेखि नै विभिन्न क्षेत्रका समस्याबारे जानकारी लिइरहेको भन्दै उहाँले सकेसम्म समस्या समाधान गर्ने गरी योजना बनाइरहेको बताउनुभयो । ढिला,सुस्ती हुन नदिने, रोकिएका विकास निर्माणका कामलाई अघि बढाउनका लागि पहल र प्रयत्न गर्ने र यसका लागि सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको घिमिरेले बताउनुभयो । ढिला,सुस्ती, वेथिति, लापरबाही भइरहेको ठाउँको र क्षेत्र र कार्यालयको पहिचान गर्ने काम पनि भइरहेको उहाँले बताउनुभयो ।

‘सर्वप्रथम सम्बन्धित क्षेत्रबाट समस्या समाधानको पहल गर्न भन्निछ, नभए प्रशासनले गर्छ त्यही पनि नहुने अवस्था आएमा सम्बन्धित मन्त्रालय, विभाग मार्फत समस्या समाधानका लागि पहल गरिन्छ, त्यसको सुरुवात भइसकेको छ,’ प्रजिअ घिमिरेले भन्नुभयो । विभिन्न निकाय, संस्था र कार्यालयहरुसँगको अन्तरक्रिया र छलफल भइरहेको भन्दै उहाँले सबैसँगको छलफलपछि एउटा कार्य योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

जिल्ला स्थित विभिन्न विकासे आयोजना, विभिन्न कार्यालयको ढिलासुस्ती र लापरबाही सुधार्ने र खास सेवा प्रवाह बनाउने प्रयास रहने भनाई पनि प्रजिअ घिमिरेको छ । पछिल्लो समय कोरोनाको तेस्रो भेरियन्ट बढ्दै गएकाले यसबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनका लागि आग्रह गरिसकेको भन्दै प्रजिअ घिमिरेले अटेरी गर्नेलाई कानून बमोजिम कारबाही हुने पनि बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालनका लागि सबैलाई अनुरोध गरिसकिएको भनाई उहाँको छ । 


 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update