Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेमा अस्थायी अस्पताल सञ्चालन
अस्थायी अस्पताल उद्घाटन गर्दै भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा अस्पताल सुरु भएको छ । वडा नम्बर २ को काँक्री स्वास्थ्य चौकीबाट चिकित्सकिय सेवा सहितको अस्पताल सोमबारबाट सुरु भएको हो । गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले अस्पतालको उद्घाटन गर्नुभएको हो । कोभिड–१९ अस्थायी अस्पताल नाम दिएर उक्त अस्पताल सुरु गरिएको हो । संघीय सरकारले पठाएको दश लाख रुपैयाँबाट एक जना डाक्टर सहित अरु जनशक्ति व्यवस्थापन गरी अस्पताल सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

अस्पतालका लागि आवश्यक औषधी तथा अत्यावश्यकीय उपकरण खरिद पनि गरिएको छ । जनशक्ति व्यवस्थापन र औषधी, उपकरण खरिदका लागि दश लाख रुपैयाँ प्राप्त भएको थियो । एक जना एमबीबीएस डाक्टर, २ जना स्टाफ नर्स र एक जना ल्याब टेक्निसियनले अस्पतालबाट काम सुरु गरेको गाउँपालिकाका स्वास्थ्य सह संयोजक सञ्जिव खड्काले जानकारी दिनुभयो । अस्पतालमा ल्याब सेवा पनि सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले डाक्टर सहित अरु स्वास्थ्यकर्मी यस अघि नै नियुक्त गरेको थियो ।

कोभिड–१९, को उपचारका लागि भनेर अस्पताल सञ्चालनमा ल्याइएपनि अस्पतालले सबै प्रकारका विरामीको उपचार गर्ने गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । संघीय सरकारको बजेट र भूमे गाउँपालिकाको सहजिकरणमा सञ्चालित उक्त अस्पताल तीन महिना चल्ने गरी बजेट प्राप्त भएको अध्यक्ष बुढाले बताउनुभयो । तर गाउँपालिकाले यो अस्पताललाई निरन्तर चलाउने योजना बनाएको छ ।

कोरोना महामारीका कारण यस अघि नै सञ्चालनमा आउनुपर्ने अस्पताल ढिला सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । अस्पताल स्थापना र सञ्चालनका लागि गाउँपालिकाले पनि बजेट विनियोजन गरेको छ । १२ लाख रुपैयाँ जनशक्ति व्यवस्थापनमा छुट्याइएको छ । डाक्टरले बस्न मानेपछि अस्पताल अब निरन्तर रहने अध्यक्ष बुढाले बताउनुभयो । गाउँपालिकाका १ देखि ८ नम्वर वडासम्मका सर्वसाधारणलाई लक्षित गरी गाउँपालिकाले अस्पताल सञ्चालन गर्ने निर्णय यस अघि नै गरेको थियो । ९ नम्बर वडा चुनवाङमा भने संघीय सरकारले बनाउने १५ शैय्याको अस्पताल निर्माण सुरु भइसकेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update