Kakhara सबैको खबर सम्पूर्ण खबर
‘पार्टीले शिक्षणमा पठायो पार्टीले नै राजनीतिमा खटायो’

नन्दराम देवकोटा पुस २५ गते विहानसम्म स्थायी शिक्षक हुहुनुहुन्थ्यो । पुस २५ गते मुसीकोट नगरपालिका ५ स्थित यमुनानन्द नमूना माध्यामिक विद्यालयमा २ पिरियड पढाएका देवकोटा सोही दिन बेलुका भने फरक भूमिकामा जानुभयो । २५ गते नै उहाँ नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा निर्वाचित हुनुभयो । एमालेको आठौं जिल्ला अधिवेशनले देवकोटालाई सर्वसम्मत पार्टीको जिल्ला कमिटिको अध्यक्ष बनायो । विहानसम्म पढाइरहेका देवकोटा एकाएक पार्टीको अध्यक्ष बनेपछि जिल्लामा तरंग फैलियो । पेन्सन पुग्न केही महिना बाँकी रहेका बेला किन यसरी राजनीतिमा गएको होलान् भन्नेहरु पनि छन् । राजनीति गरिरहेका बेला मुल राजनीतिमा गएर ठिक भयो भन्नेहरु पनि छन् । यद्यपी देवकोटाले २३ गते विद्यालयमा राजिनामा बुझाई सक्नुभएको थियो । विद्यालयले २३ गतेदेखि नै लागु हुने गरी राजिनामा पनि स्विकृत गरिसकेको छ । 

२६ वर्षमा गाविस अध्यक्ष, ५० वर्षमा पार्टी अध्यक्ष
देवकोटा पहिलो पटक राजनीतिमा आउनु भएको भने होइन । विद्यार्थीकालदेखि नै उहाँ राजनीतिमा सक्रिय हुनुहुन्छ । वीरेन्द्र मावि बाँफिकोटमा पढ्दैदेखि देवकोटा राजनीतिमा लाग्नु भएको थियो । २०४६ सालको  जनआन्दोलनदेखि राजनीतिमा आकर्षित भएका देवकोटा २०५४ सालमा तत्कालिन बाँफिकोट गाविस अध्यक्षमा निर्वाचित हुनु भएको थियो । २६ वर्षको उमेरमा उहाँ गाविस अध्यक्षमा निर्वाचित हुनु भएको थियो । गाविस अध्यक्ष निर्वाचित हुँदा देवकोटा एमालेको ११ नम्वर इलाका सदस्य हुनुहुन्थ्यो । गाविस अध्यक्ष निर्वाचित भएपछि उहाँ केही समय राजनीति भन्दा बाहिर रहनुभयो । २०६१ सालदेखि उहाँ शिक्षक बन्नुभयो । १७ वर्ष ६ महिना बढी अध्यापन गराउनु भएका देवकोटा २०७८ मा नेकपा एमालेको जिल्ला अध्यक्ष हुनु भएको छ । २६ वर्षको उमेरमा गाविस अध्यक्ष बनेका देवकोटा ५० वर्षको उमेरमा जिल्ला कमिटि अध्यक्ष निर्वाचित हुनुभयो । 

पेन्सनका २९ महिना 
निरन्तर पढाइरहेको भए देवकोटा २९ महिनामा पेन्सनर हुनुहुन्थ्यो । तर उहाँले २९ महिना पनि नकुरेर राजिनामा दिई राजनीतिक मैदानमा आउनु भएको छ । पार्टी, संगठन निर्माणका लागि आफूले २९ महिनाको प्रवाह नगरेको भनाई देवकोटाको छ । ‘२९ महिना धेरै लामो समय होइन तर मैले त्यसको प्रवाह गरिन पार्टी निर्माण र संठनका लागि यो त्याग गरें,’ देवकोटाले भन्नुभयो । नेता, कार्यकर्ता र प्रतिनिधिहरु चुनाव गर्ने मनस्थितिमा नभएको र आकांक्षीहरु चुनाव गर्नुपर्ने अवस्थामा रहेका कारण पनि आफू आउनुपर्ने अवस्था बनेको देवकोटाले बताउनुभयो । पार्टी र कार्यकर्ताको मागका आधारमा नै आफूले शिक्षक पेशा छाडेर मुल राजनीतिमा आएको भनाई उहाँको छ । राजनीति पाउनका लागि मात्रै होइन समाज बनाउन संस्कार बनाउनका लागि पनि गर्नुपर्छ भन्ने मान्यताका आधारमा २९ महिनाको प्रवाह नगरी पार्टी राजनीतिमा जोडिएको तर्क देवकोटाको छ । 

पार्टीले नै शिक्षणमा पठायो पार्टीले नै राजनीतिमा बोलायो
राजनीतिमा सक्रिय रहेकै बेला आफूलाई पार्टीले शिक्षण पेशामा पठाएको भनाई देवकोटाको छ । २०५२ सालमा शिक्षक सेवा आयोगले लिएको लिखित तथा मौखिक परीक्षा दिएका देवकोटाको नतिजा २०६१ सालमा आएको थियो । परीक्षाको नतिजाले उहाँलाई शिक्षण पेशामा जान अनुमति प्रदान गरेको थियो । जतिबेला उहाँ पार्टी जिल्ला कमिटिको सचिवालय सदस्य र ११ नम्बर इलाकाको सचिवको भूमिकामा हुनुहुन्थ्यो । त्यतिबेला देशमा जनयुद्ध चलिरहेको थियो । एमालेको संगठन बनाउने र कार्यकर्ता संरक्षणको जिम्मेवारी सहित आफू शिक्षण पेशामा गएको देवकोटाले बताउनुभयो । जिल्ला कमिटिको बैठकले नै आफूलाई शिक्षण पेशामा गएर पार्टीको जिम्मेवारी पूरा गर्न निर्णय गराएको देवकोटाले बताउनुभयो । पार्टीले बोलाएको सन्दर्भमा फर्कने गरी पार्टी निर्णय भएको भन्दै उहाँले यस पटक पार्टी निर्णयकै कारण आफू शिक्षण पेशाबाट राजनीतिमा फर्किएको बताउनुभयो । तत्कालिन जिल्ला पार्टी सचिव शेरबहादुर केसीले बाहेक जिल्ला कमिटिका सबै सदस्यले आफूलाई शिक्षण पेशामा गएर राजनीतिक जिम्मेवारी पूरा गर्न भनेको देवकोटाले बताउनुभयो । सचिव केसीले पनि त्यस बैठकको म्यान्डेट अनुसार नै निर्णय गराएर शिक्षण पेशामा पठाउनु भएको देवकोटाको भनाई छ । 

संस्कारयुक्त कार्यकर्ता प्रणालीबद्ध पार्टी
देवकोटा अध्यक्षमा निर्वाचित भएपछि पार्टीको पहिलो जिल्ला कमिटि बैठक बसिसकेको छ । यो बैठक औपचारीक मात्रै भएको छ । आफुले शिक्षण पेशा छाडेर राजनीतिमा आउनुको औचित्य पुष्टि गर्ने गरी काम गर्ने योजना बनाएको देवकोटाले बताउनुभयो । त्यसका लागि संस्कारयुक्त कार्यकर्ता र प्रणालीबद्ध पार्टी बनाउने योजना रहेको देवकोटाले सुनाउनुभयो । कम्युनिष्ट कार्यकर्ता कम्युनिष्ट जस्ता नभएकोप्रति चिन्ता व्यक्त गर्दै देवकोटाले आफू त्यसको सुधारमा लाग्ने बताउनुभयो । ‘सबैको साथ र सहयोग त चाहिएला नै,’ देवकोटाले भन्नुभयो ‘तर म कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने छैन र हुन दिने पनि छैन ।’ सिद्धान्त र व्यवहारको मेल गराउन नसक्ने कार्यकर्ता कम्युनिष्ट हुन नसक्ने भएकाले आफू सिद्धानन्त र व्यवहार मिलाउनका लागि कोशिसमा रहने भनाई उहाँको छ । स्वार्थ केन्द्रीत कार्यकर्ता समाज र जनताको परिवर्तणमा लाग्ने गरी काम गर्ने र त्यसमा सबैलाई डोर्याउने प्रयास आफ्नो हुने देवकोटाले बताउनुभयो ।

राजनीतिक संलग्नता
देवकोटालाई कक्षा १० पढ्दादेखि राजनीति नसा लागेको थियो । त्यतिबेला देवकोटाले एक दलिय शासनका विरुद्ध पर्चा छर्ने र काला झण्डा गाड्ने काम गर्नुभएको थियो । त्यतिबेलै अनेरास्ववियु प्रारम्भिक कमिटि सदस्य बन्नुभएका त्यसपछि विभिन्न संगठन र मोर्चामा जोडिनुभयो । एसएलसी पछि उहाँले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा रहेर राजनीति गर्नुभयो । २०५१ मा संघको जिल्ला कार्यालय सचिव उपाध्यक्ष र २०५३ मा अध्यक्ष हुनु भएको थियो । पिपुल्स भोलिन्टियरको केन्द्रीय सदसय तथा रोल्पा, सल्यान र रुकुम जिल्ला इन्चार्जको भूमिका निर्वाह गर्नुभयो । त्यसबीचमा एमालेको विभिन्न भूमिका रहनु भएका उहाँ हाल पनि नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । सुरुमा यो शिक्षक संगठनको जिल्ला सदस्य मनोनित हुनु भएका देवकोाटा । २०६३ मा नेपाल शिक्षक युनियनको जिल्ला अध्यक्ष हुनुभयो । २०६९ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्य र २०७५ मा भएको महाधिवेशनबाट यो संगठनको केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update