रुकुम पश्चिममा पुनः कोरोना संक्रमितहरु थपिन थालेका छन् । लामो समयसम्म जिल्लामा कोरोनाका बिरामीहरु देखिएका थिएनन् । तर गत पौष पहिलो सातादेखि भने जिल्लामा कोरोनाका बिरामीहरु देखिन थालेका हुन् । पछिल्लो पटक पौष ९ गते एक जना शिक्षकमा कोरोनाको संक्रमण देखिएको थियो । त्यसयता ४९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्येमा ४२ जना संक्रिय संक्रमित रहेका छन् । उनिहरु सबै घरमै बसिरहेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीले जानकारी दिनुभयो ।
अहिले जिल्ला अस्पताल, पालिका अस्पताल तथा अन्य अस्पतालमा उपचारका लागि आएका र परीक्षण गर्न इच्छुकमा मात्र कोरोना परीक्षण भइरहेको छ । परीक्षण बढाएमा संक्रमितहरु पनि बढ्न सक्ने सूचना अधिकारी ओलीले बताउनुभयो । अहिले मानिसहरु कोरोना परीक्षणका लागि तयार नहुने समस्या रहेको उहाँको भनाई छ ।
‘हामीले अस्पतालमा आएका लक्षण देखिएका त्यो पनि इच्छुक बिरामीमा मात्र कोरोना जाँच गरिरहेका छौं, धेरै जसो मान्छेहरु कोरोना जाँचका लागि तयार छैनन्, परीक्षणको दायरा बढायो भने संक्रमितको संख्या पनि बढ्नसक्छ, उहाँले भन्नुभयो ।’ स्थानीय तहहरुलाई पनि कोरोनाको जाँच बढाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।
कोरोना संक्रमण फैलिएपछि हालसम्म जिल्लामा कुल १० हजार ५ सय ९७ जनामा कोरोना जाँच गरिएको छ । जसमा ४ हजार ५१ जनामा संक्रमण देखिएको थियो भने ३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।