भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको लगत संकलन गर्न मुसीकोट नगरपालिकामा लगत संकलन इकाई स्थापना गरिएको छ । भूमि सम्बन्धी समस्या आयोगले पहिलो चरणमा जिल्लाका मुसीकोट सहित तीन स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सकुम्बासी र अव्यवस्थित बसोवासीहरुको लगत संकलन गर्दै छ । जसका लागि मुसीकोट नगरपालिकामा लगत संकलन इकाई स्थापना गरिएको हो । इकाईको आज आयोगका सदस्य बुद्धिप्रसाद शर्माले उद्घाटन गर्नुभयो । उक्त संकलन इकाई मार्फत नगरपालिका भरमा रहेको भूमिहीन दलित र भूमिहीन सकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुको लगत संकलन गरिने छ ।
नगरका १४ वटै वडामा पुगेर इकाईले भूमिहीन दलित, भूमिहीन सकुम्बासी र अव्यवस्थित बसोवासीहरुको लगत संकलन गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय नरविर खड्काले बताउनुभयो । नगरपालिकाले कार्यक्रम अधिकृत कुबेर केसीको संयोजकत्वमा ७ जनाको टोली इकाईमा खटाएको उहाँले बताउनुभयो । उहाँका अनुसार नगरपालिकामै कार्यरत कर्मचारीहरुलाई इकाईमा जिम्मेवारी दिईएको छ । भूमिहीन दलित र भूमिहीन सकुम्बासीलाई जग्गा दिन र अव्यवस्थित बसोवासलाई व्यवस्थित बनाउन लगत आयोगले लगत संकलन गर्दै छ । जसअनुसार पहिलो चरणमा जिल्लाका तीन स्थानीय तहमा लगत संकलन गर्न लागिएको छ ।
चौरजहारी नगरपालिका र त्रिवेणि गाउँपालिकाले भने लगत संकलन इकाई स्थापना गर्न बाँकी छ । गाउँकार्यपालिकाको बैठक बस्न बाँकी रहेको र कार्यपालिका बैठक बसेर यससम्बन्धी निर्णय गर्ने त्रिवेणि गाउँपालिकाले जनाएको छ । त्यस्तै चौरजहारी नगरपालिकाले यससम्बन्धी केहि दिनमा व्यवस्था गर्ने बताएको छ । वास्तविक तथ्यांक संकलनका लागि आयोगले स्थानीय तहहरुसंग सहकार्य गरेर लगत संकलन गर्दै छ । जसका लागि आयोगले जिल्लाका मुसीकोट र चौरजहारी नगरपालिका तथा त्रिवेणि गाउँपालिकासंग यसअघि नै सम्झौता गरिसकेको छ ।