मुसीकोट नगरपालिका २ का दलबहादुर खड्काले विगत तीन वर्षदेखि एकीकृत कृषि फर्म संचालन गरिरहनुभएको छ । केही बाख्रा र माछाबाट फर्म सुरु गर्नुभएका खड्काले अहिले करोड बढी लगानी गरिसक्नुभएको छ । खड्काको फर्ममा अहिले वोयर जातका सय बढी बाख्रा छन् । त्यसमा ५० बढी माउ बाख्रा हुन भने बाँकी पाठापाठी छन् । तीन वटा व्रिडर (बोका) छन् । करिब २ हजार देखि २५ सय सम्म माछा छन् । आर्थिक वर्ष २०७५/०७६ देखि कृषि फर्म संचालनमा ल्याउनुभएका खड्काले कृषिमा व्यवशायिक बन्ने प्रयास गरिरहनुभएको छ । फेडरल इन्भेस्टमेन्ट प्रा.लि.बाट उहाँले फर्म चलाईरहनुभएको छ ।
अनुदान लिने र काम नगर्ने परिपाटी विकास भइरहेका बेला खड्काले त्यसलाई चिर्न कृषिमै व्यवशायिक बन्न सकिन्छ भन्ने अठौटका साथ कृषिमा लागेको बताउनुभयो । ‘यहाँ अनुदान पाएर कृषिमा लाग्ने र कृषिमा लागेर अनुदान पाउने गरी दुइ प्रकारका किसान छन्, उहाँले भन्नुभयो–कृषिमा लागेर अनुदान पाएकाले त जसोतसो व्यवशायलाई निरन्तरता दिने प्रयास गरेकै छन् तर अनुदान पाएर कृषिमा लागेकाहरु भने विचमै हराउने समस्या छ, त्यस्तो हुनुहुँदैन भन्ने मेरो कुरा हो ।’
खड्काले अहिले फर्ममा तीन जनालाई रोजगारी दिनुभएको छ । मासिक २० हजार सहित बीमा, सञ्चयकोष लगायतका सेवा उनीहरुले पाइरहेको खड्का बताउनुहुन्छ । तर नियमित काम गर्ने कामदार पाउन भने मुश्किल रहेको उहाँको भनाई छ । कृषिमा काम गर्ने भनेपछि राम्रो पैसा र सेवा दिदा पनि कोही तयार नहुने उहाँले बताउनुभयो ।
लगानीकै चरणमा रहेकोले बाख्राले आम्दानी दिन सुरु नगरेको खड्काले सुनाउनुभयो । ‘म अझै बाख्रा थप गरिरहेको छु, माउ बाख्रा नै सय भन्दा बढी बनाउने योजना छ, अहिले लगानीकै चरणमा रहेकाले बाख्राबाट आम्दानी लिन सुरु भएको छैन् ।’ व्यवस्थापन खर्च र कर्मचारी खर्च भने उठिरहेको उहाँ बताउनुुहुन्छ । माछाले भने आम्दानी दिईरहेको छ । खड्काले कार्प जातका माछा पाल्नुभएको छ । त्यसभित्रका चार प्रकारका माछा अहिले पोखरीमा छन् । माछाका लागि १५ लाख अनुदान पाएको खड्काले बताउनुभयो ।
कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट पाएको अनुदानले पोखरी निर्माण गरेको खड्काको भनाइ छ । खड्काका अनुसार अहिले माछाबाट वार्षिक तीन लाख जति आम्दानी भइरहेको छ । भुरा समेत आफै उत्पादन गर्नुहुन्छ । बजारको समस्या छैन् । पोखरीबाटै माछा बिक्रि हुन्छन् । बाख्राका लागि खोर थप्ने योजनामा उहाँ हुनुहुन्छ । अझै सय बढी बाख्रा अटाउने खोर निर्माण गर्ने उहाँले बताउनुभयो । फर्मकै लागि भनेर खड्काले ४० लाखको जग्गा समेत जोड्नुभएको छ । सबै गरेर उहाँसंग अहिले ४० रोपनी बढी जग्गा छ ।
२० लाख वार्षिक आम्दानीको लक्ष
अहिले आफु नाफामा गइनसकेको खड्का बताउनुहुन्छ । लगानीकै चरणमा रहेकाले आम्दानीको समय आईनसकेको उहाँको भनाई छ । आफ्नो लक्ष भने वार्षिक २० लाख आम्दानी रहेको उहाँले बताउनुभयो । सबै खर्च कटाएर वार्षिक २० लाख आम्दानी गर्ने लक्ष रहेको उहाँले सुनाउनुभयो । यो सम्भव पनि देख्नुहुन्छ उहाँ । ‘व्यवशायिक सोँचका साथ अगाडि बढेको छु, उहाँले भन्नुभयो–यसैगरी राम्रो हुँदै गयो भने लक्ष पुरा हुने देख्छु ।’
सरकारले अनुदान होइन सहुलियत ऋणमा जोड दिनुपर्छ
जिल्लामा अनुदानमुखी कार्यक्रमहरु सफल छैनन् । अनुदान लिने तर त्यसको सदुपयोग नहुने ठूलो समस्या छ । अनुदानले कृषिमा विकृति बढाएको उहाँलाई लाग्छ । अनुदान नभई अव किसानलाई सहुलियपूर्ण ऋण दिनुपर्नेमा उहाँको जोड छ । ‘अनुदानले किसानलाई बिगार्ने काम गरेको छ, यदी व्यवशायिक कृषि प्रणालीमा जाने हो भने अनुदानलाई पूर्ण रुपमा रोकेर सहुलियतपूर्ण ऋणमा जानुपर्छ, उहाँ भन्नुहुन्छ ।’
सामाजिक क्षेत्र संगै कृषिमा
खड्का विभिन्न सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । उहाँ कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)को केन्द्रीय सचिव हुनुहुन्छ । उद्योग वाणिज्य संघ रुकुम पश्चिमको उपाध्यक्षका रुपमा पनि उहाँ कार्यरत हुनुहुन्छ । उहाँ आइटी व्यवशायी पनि हो । आइटी व्यवशाय र अन्य सामाजिक कामबाट बचेको समयलाई कृषिमा लगाइरहेको उहाँ बताउनुहुन्छ । आफ्नो करिब २०–३० प्रतिशत समय अहिले कृषिमा रहेको उहाँले सुनाउनुभयो । यसलाई बढाउदै लैजाने र कृषिमै व्यवशायिक बन्ने उहाँको सोँच छ ।