रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका १० मध्य ९ वडाका कार्यालय सम्म सडक पुगिसकेको छ । १ देखि ९ नम्बर वडासम्म सडक सञ्जाल जोडिसकेको छ । १० नम्बर वडा भने हालसम्म पनि सडक सञ्जालमा जोडिएको छैन । वडाका केही भाग सडक सञ्जालमा जोडिएपनि वडा कार्यालय तथा धेरै वस्ति सजिलै सडकमा जोडिएका छैनन् ।
यद्यपी सडक निर्माण कार्य भने जारी छ । बाँफिकोटकै ९ नम्बर वडाबाट र छिमेकी सानीभेरी गाउँपालिकाबाट यहाँ सडक पुर्याउन काम भइरहेको छ । बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले सानीभेरीतर्फ र ९ नम्बर दुवैतर्फ काम भइरहेकाले यसै वर्ष १० नम्बर वडा पनि सडक सञ्जालमा जोडिने बताउनुभयो ।
त्यसका लागि यो वर्ष पनि केही दिनमा काम सुरु गर्ने तयारी छ । पूर्वाधार विकास कार्यालय चौरजहारीले एक/एक करोडको ठेक्का खोलेको छ । दुई खण्डमा काम गर्ने गरी यो ठेक्का खोलिएको छ । यसै बजेटबाट पनि यो वडालाई सडक सञ्जालमा जोड्न सकिने अवस्था रहेको अध्यक्ष केसीले बताउनुभयो ।
सानीभेरी तर्फबाट रिम्नालाई सुरुवाती विन्दु मानेर र यतातर्फ गाराघाटलाई प्रस्थान विन्दु मानेर सडक निर्माण भइरहेको छ । यस अघि गाउँपालिकाले यस सडक निर्माण एक करोड बढी लागानी गरेको छ । अब झण्डै ३ सय मिटर निर्माण भएपछि वडा सडक सञ्जालमा जोडिने अध्यक्ष केसीले बताउनुभयो । पहर र कडा चट्टानका कारण सडक निर्माणको गति केही ढिला भएको बताइएको छ ।