रुकुम पश्चिममा नेपाल टेलिकमको फोर जी सेवामा समस्या आएको छ । एक साता देखि फोर जी सेवाले काम गर्न छाडेपछि सेवाग्राही मर्कामा परेका छन् । रोल्पाको रातामाटामा रहेको रिपिटर टावरमा रहेका सामग्रीमा क्षेति भएपछि फोर जी सेवामा समस्या आएको दुर सञ्चार कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
चट्याङले विभिन्न उपकरणमा क्षेति पुगेको नेपाल दुरसञ्चार कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । मर्मतको काम चलिरहेको उहाँले बताउनुभयो । नेपालगञ्जबाट आएको प्राविधिकको टोलीले मर्मतको काम गरिरहेको र छिट्टै सेवा संचालनमा आउने उहाँको भनाई छ ।
मर्मतका लागि ल्याएका केही सामग्रीले काम नगरेपछि पुनः सामान ल्याउनुपर्ने भएका कारण ढिलाई भएको शर्माले बताउनुभयो । सेवाग्राहीले भने धेरै दिनसम्म पनि सेवा सुचारु नहुँदा मारमा परेको भन्दै आक्रोश पोखिरहेका छन् । विभिन्न सेवा प्रदायकले वितरण गरेको इन्टरनेटको गति सुस्त रहेको र नेपाल टेलिकमको फोर जी सेवा समेत अवरुद्ध भएपछि दैनिक कामकाज प्रभावित बन्न पुगेको छ ।