रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १२ कोलमा कवर्डहल निर्माण गरिएको छ । वडाको बजेटबाट कोलगाउँमा ब्याडमिन्टन खेलका लागि कवर्डहल निर्माण गरिएको हो । कवर्डहल निर्माणका लागि १७ लाख बजेट खर्च भएको छ ।
गत आर्थिक वर्षमा १२ लाख बजेट कवर्डहलका लागि विनियोजन भएकामा वडाले चालु वर्षमा फिनिसिङका लागि ५ लाख बजेट विनियोजन गरेको थियो । दुई वर्षको बजेटबाट कवर्डहल निर्माणको काम सम्पन्न भएको वडाध्यक्ष गंगाबहादुर पुनले जानकारी दिनुभयो ।
ब्याडमिन्टनमा देखिएको आकर्षणलाई लक्षित गरेर कवर्डहल निर्माण गरिएको उहाँले बताउनुभयो । ‘पछिल्लो समय ब्याडमिन्टनमा तिव्र आकर्षण देखियो, मौसमका कारण खुला स्थानमा ब्याडमिन्टन खेल्न सकिने अवस्था भएन, उहाँले भन्नुभयो–त्यसैले गाउँमै कवर्डहल निर्माण गरेका छौं ।’
कवर्डहल संचालनमा समेत आएको छ । अव कोल र आसपासमा ब्याडमिन्टनका राम्रा खेलाडी उत्पादन हुने विश्वास गरिएको वडाध्यक्ष पुनले बताउनुभयो । हिउँद तथा वर्षायाम जुनसुकै बेला पनि नियमित अभ्यास गर्न मिल्ने भएपछि राम्रा खेलाडी उत्पादन हुने विश्वास गरिएको छ ।