राष्ट्रिय भूमि आयोग र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाबीच सम्झौता भएको छ । नगरपालिकामा रहेको भूमिहिन तथा सुकुम्बासी लगायतलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि सम्झौता भएको हो । आयोगका तर्फबाट अध्यक्ष केशव निरौला र नगरपालिकाको तर्फबाट नगरप्रमुख गोर्खबहादुर केसीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार अब नगरपालिकाले भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने छ । हरेक वडा अनुसार उनिहरुको विवरण संकलन गरी कम्प्युटरमा दर्ता गर्नुपर्ने छ । यी सहित १३ वटा कार्य नगरपालिकाले गर्ने छ ।
आयोगले त्यसमा ५ वटा कार्य गर्ने छ । सबै काम सकिएपछि आवश्यक्ता अनुसार भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराइने छ । त्यसको सम्पूर्ण तयारी नगरपालिकाले गर्ने छ । आयोगसँग सम्झौता सकिएको र बाँकी काम तीव्रतर रुपमा गरिने नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो ।
जिल्लामा सबभन्दा बढी आठबीसकोट नगरपालिकामै त्यस्ता परिवार र व्यक्तिहरु रहेको नगरप्रमुख केसीले बताउनुभयो । नगरपालिकाले ४ सय देखि ४ सय ५० जति परिवारलाई जग्गा उपलब्ध गराउनुपर्ने गरी तयारी गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । सबैले काठमाण्डौं गएर आयोगसँग सम्झौता गरिरहेका छन् ।
काम छिटो गर्नुपर्ने र अरु धेरै स्थानीय तहले आफ्नो काम अघि बढाइसकेकाले सम्झौता गरिएको नगरप्रमुख केसीले बताउनुभयो । अब नगरपालिकाले व्यवस्थित लगत संकलन गर्ने र त्यसका आधारमा जग्गा उपलब्ध गराउने तयारी गरिएको छ ।