Kakhara सबैको खबर सम्पूर्ण खबर
छोरी खाताको अभिलेख व्यवस्थित गरिने

‘बैंक खाता छोरीको सुरक्षा जीवन भरीको’ कार्यक्रमको अभिलेख र प्रतिवेदन व्यवस्थित गराइने भएको छ । रुकुम पश्चिमका ६ वटै पालिकामा सञ्चालित यो कार्यक्रम निरन्तर चलिरहे पनि अभिलेख व्यवस्थापन र प्रतिवेदनमा समस्या रहेको भन्दै अब यसको व्यवस्थापन गरिने भएको हो ।

कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा हरेक स्थानीय तहले छोरीको खाता खोलिदिने र नगद जम्मा गर्ने गरेका छन् । २०७६ सालको साउन १ र त्यसपछि  जन्मेका हरेक छोरीको खाता खोलिदिने र सुरुको एक महिना एक हजार त्यसपछिका रहेक महिना पाँच सयका दरले रकम जम्मा गरिदिने गरिएको छ ।

तर स्थानीय तहमा अभिलेख व्यवस्थापन र प्रतिवेदन व्यवस्थित नभएको गुनासो भइरहेका बेला गुनासो सम्बोधनका लागि प्रयास थालिएको छ । सामाजिक विकास कार्यालय रुकुम पश्चिमले दुई दिनको तालिम आयोजना गरी यो कार्यक्रमको अभिलेख व्यवस्थापन र प्रतिवेदनलाई व्यवस्थित गर्न लागेको हो ।

मन्त्रालयले सफ्टवर विकास गरेकाले अब हरेक स्थानीय तह र हरेक छोरीको विवरण दुरुस्त रहने सामाजिक विकास कार्यालयका प्रमुख धनन्जय आचार्यले बताउनुभयो । सबै स्थानीय तहका सम्बन्धित शाखा कर्मचारीलाई दुई दिने तालिम दिइने र त्यसपछि यो कार्यक्रम अभिलेख व्यवस्थापन र नियमित प्रतिवेदन व्यवस्थित हुने आचार्यको भनाई छ । कर्मचारीलाई सफ्टवर सम्बन्धिको तालिम र अरु व्यवस्था, कार्यविधिका विषयमा सिकाईदै छ । यसको अभिलेख व्यवस्थापन र प्रतिवेदन राम्रो र नियमित बनाउन तालिम आयोजना गरेको प्रमुख आचार्यले बताउनुभयो ।

अब नियमित रुपमा स्थानीय तहले सामाजिक विकास कार्यालयमा प्रतिवेदन दिनेछन् र कार्यालयले मन्त्रालयमा प्रतिवेदन बुझाउने छ । जिल्लामा सञ्चालित महत्वपूर्ण कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने जिल्ला समन्वय समिति उपप्रमुख इन्दिरा विएमले बताउनुभयो । नीतिगत र व्यवहारिक रुपमा नै विभेद हटाउने गरी आएको यो कार्यक्रमलाई सबैतिर कार्यान्वयन गर्नुपर्ने र यसबाट सम्बन्धित सबैलाई लाभान्वित गराउनुपर्ने भनाई विएमको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update