रुकुम पश्चिममा गत पुष ६ गतेबाट कोरोना विरुद्धको मोडर्ना खोपको पहिलो डोज लगाएका १२ देखि १७ वर्ष उमेरकालाई दोस्रो डोज दिन सुरु भएको छ । जिल्ला भरमा आज देखि मोडर्ना खोपको दोस्रो डोज दिन सुरु गरिएको हो ।
जिल्लामा १२ देखि १७ वर्ष उमेर समुहका २१ हजार १ सय १४ जनाले मोडर्नाको पहिलो डोज लगाएका थिए । उनिहरुलाई आजदेखि दोस्रो डोज दिन सुरु गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले पहिलो डोज लगाएका सबैलाई दिने गरी दोस्रो डोजको खोप कार्यक्रम सुरु भएको बताउनुभयो ।
जिल्लामा अनुमानित भन्दा बढीले पहिलो डोज लगाएका थिए । करिब १९ हजारले खोप लगाउने अनुमान गरिएकामा अनुमान भन्दा बढीले मोडर्नाको पहिलो डोज लगाएको खोप सुपरभाइजर खड्काले बताउनुभयो । साथै उहाँले पहिलो डोज लगाएका सबै जनालाई अनिवार्य रुपमा दोस्रो डोज लगाउन आग्रह गर्नुभयो ।
यसअघिकै खोप केन्द्र रहेका बिद्यालयहरुमा खोप कार्यक्रम चलिरहेको र आफ्नो पाएक पर्ने केन्द्रमा गएर खोप लगाउन उहाँको आग्रह छ । अहिले दोस्रो डोज लगाउन छुटेमा पछि खोप पाउन मुश्किल पर्ने भएकाले सबैलाई अनिवार्य खोप लगाउन स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको हो ।