संसद विघटनको विरोधमा रुकुम पश्चिममा आज पनि प्रदर्शन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले लगातार संसद विघटनको चर्को विरोध जनाईरहेका छन् । पुष १४ गते जिल्ला स्तरीय विरोध प्रदर्शन गरेको नेकपा रुकुम पश्चिमले अहिले पालिका स्तरमा प्रदर्शन गरिरहेको छ । जसअन्तरगत आज बाँफिकोट गाउँपालिका र त्रिवेणि गाउँपालिकामा प्रदर्शन भएका छन् । दुवै पालिका पार्टी कमिटिले आज पालिका भरका नेता, कार्यकर्ता तथा पार्टी समर्थकहरुलाई केन्द्रित गरेर संसद विघटनको विरोधमा प्रदर्शन गरेका हुन् ।
त्रिवेणि गाउँपालिकाको वडा नं. २ सिम्रुतमा प्रदर्शन भएको छ । पालिकाभरीबाट सिम्रुतुमा भेला भएका पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुले नारावाजि गर्दै संसद विघठनको विरोध गरेका थिए । केपि ओली मूर्दावाद, संसद विघठनको असंवैधानिक कदम खारेज गर, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए । प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजकुमार शर्माले संसद विघठनको असंवैधानिक कदम जनताको बलमा खारेज गराउने बताउनुभयो । जनता नै सर्वोपरि भएको भन्दै उहाँले प्रधानमन्त्री केपि ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको सनक र मनमर्जिमा देशलाई बर्वाद हुन नदिने बताउनुभयो । केपि ओलीको असली रुप देखिदै जान थालेको र त्यसको मुल्यांकन समय र जनताले गर्ने उहाँको भनाई थियो । सभालाई पार्टीका प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव विमलकुमार पुनमगर र प्रदेश कमिटि सदस्य झक्कुप्रसाद घर्तीले पनि सम्बोधन गर्नएको थियो ।
यस्तै बाँफिकोटको वडा नं. ४ नेटाबजारमा प्रदर्शन भएको छ । पालिकाका १० वटै वडाबाट जुलस सहित आएकाहरुले संसद विघठनको विरोधमा चर्का नारावाजि गर्दै संसद पनुस्र्थापनाको माग गरेका थिए । प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघठन गरेर संविधानको घाँटि निमोठ्ने काम गरेको विरोध प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्ने वक्ताहरुले बताएका थिए । केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज बसन्त शर्माले केपि ओलीले देशलाई भड्खालोमा हालेको आरोप लगाउनुभयो । लामो संघर्षपछि प्राप्त परिवर्तन गुम्ने खतरा रहेकाले यसका बिरुद्धमा आफुहरु लागेको र यसमा जनताहरुले बलियो साथ दिईरहेको उहाँले बताउनुभयो । कुनैपनि परिवर्तनलाई जनताको बलले गुम्न नदिने उहाँको भनाई थियो । सभालाई पार्टीका स्थायी कमिटि सदस्य जनार्दन शर्मा प्रभाकरले पनि फोनबाट सम्बोधन गर्नुभएको थियो । त्यस्तै केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज बसन्त शर्मा, प्रदेश कमिटि सदस्य महेन्द्र केसी, देवि ओली, धर्मवहादुर केसी र इन्दीरा बुढाले समेत सम्बोधन गर्नुभएको थियो ।
पार्टी जिल्ला कमिटिको निर्णय अनुसार पालिका स्तरमा विरोध भइरहेका छन् । अव चौरजहारीमा भोली हुने छ भने मुसीकोटमा जिल्ला स्तरीय प्रदर्शन भइसकेकाले पालिका स्तरीय प्रदर्शन नहुने नेकपाले जनाएको छ । त्यस्तै नेकपाले यसपछि वडा तथा टोल स्तरमा पनि विरोध प्रदर्शन, भेला तथा बैठकहरु गर्ने नेकपाका जिल्ला सचिव बिमलकुमार पुनले जनानकारी दिनुभयो ।