रुकुमले छैटौं, सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको साविकको मध्यपश्चिममाञ्चल विकास क्षेत्र स्तरीय र कर्णाली प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष भलिबलमा लगातार तीन पटक उपाधी जितिसकेको छ । जिल्ला साविकको मध्यमश्चिमाञ्चल विकास क्षेत्र तथा हालको कर्णाली प्रदेशमा समेत पुरुष भलिबलमा अब्बल छ । यसलाई हेर्दा थाहा हुन्छ जिल्लामा भलिबलको क्रेज कति छ र भलिबललाई कतिसम्म प्राथमिकता दिईन्छ भनेर । जिल्लामा हुने साना ठुला जुनसुकै मेला महोत्सव तथा विभिन्न अवसरमा पनि भलिबल अनिवार्य छ । ठुलो संख्यामा प्रतियोगिताहरु आयोजना हुने गर्दछन् । पछिल्ला वर्षहरुमा भने भलिबल मात्र होइन अन्य खेलकुद प्रतियोगिताको क्रेज पनि ह्वात्तै बढेको छ । भलिबललाई छाँयामा पार्ने गरी ब्याडमिन्टन प्रतियोगिताहरु हुन थालेका छन् । फुटबल, क्रिकेटका गतिबिधिहरु पनि बढ्दो छन् । मेला होस वा कुनै विशेष अवसर भलिबल मात्र हेर्न पाउँने दर्शकहरु हाल भन्ने अन्य खेलकुद गतिविधिमा पनि रम्न थालेका छन् । अझ पछिल्ला दिनहरुमा नयाँ नयाँ खेलकुद प्रतियोगिताहरु भित्र्याउने क्रम सुरु भएको छ । गत पुष पहिलो साता जिल्ला सदरमुकाममा विच भलिबल आयोजना गरियो । भलिबलका बारेमा ज्ञात रहेका जिल्लावासीलाई यो भलिबल भने विल्कुल नयाँ लाग्यो । मान्छेहरु ठुलै संख्यामा यो खेल हेर्न पुगे । बढ्दो विकास क्रमसंगै नयाँ नयाँ खेलकुदका बारेमा जानकार हुने र ति खेलहरुलाई जिल्लामा पनि ल्याउने क्रम सुरु भइसकेको छ ।
रुकुम पश्चिममा खेलकुद प्रतिको क्रेज कति छ भन्ने कुरा पछिल्ला ४ महिनालाई हेर्ने हो भने पनि पुष्टि हुन्छ । गत ४ महिनामा खेलकुद पुरस्कारमा मात्र २४ लाख खर्च भएको छ । जिल्लामा संचालन भएका १४ वटा खेलकुद प्रतियोगितालाई पछ्याउदा यि १४ खेलकुद प्रतियोगिताबाट २३ लाख ९४ हजार ७ सय २२ रुपैंया पुरस्कार वितरण भएको छ । यि बाहेक अन्य खेलकुद गतिविधि समेत संचालन भएको हुनसक्ने भएपनि गणनामा छुटेका हुनसक्छन् । यो त पुरस्कार राशी मात्र हो । प्रतियोगिता व्यवस्थापनका लागि खर्च गरिएको रकम भने यो भन्दा बढी हुनसक्छ । पुरस्कार राशी देखिने भएपनि अन्य भित्रि खर्च भने कसैलाई थाहा दिईदैन् । न सरकारी बजेटबाट खेलकुद संचालन गर्ने आयोजक हुन् वा सहयोग जुटाएर खेलकुद संचालन गरेका आयोजक हुन् कसैले पनि अहिलेसम्म जिल्लामा प्रतियोगिता संचालनका लागि यति खर्च भयो भनेर कसैले सार्वजनिक गर्दैनन् । हरेक मेला र खेलकुद प्रयावाची नै बनेका छन् । कुनै मेला लागोस त्यहाँ खेलकुद संचालन नहोस त्यो सम्भव नै छैन् ।
खेलकुदमा सरकारी भन्दा पनि नीजि तवरबाट लगानी बढी देखिन्छ । स्थानीय तह बनेपछि खेलकुदमा लगानी बढेपनि नीजि क्षेत्रबाटै खेलकुदमा लगानी बढी छ । यद्धपी स्थानीय तहहरुले पनि ठूलो रकम खेलकुद प्रतियोगिताका लागि खर्च गरेका छन् । खेलकुद केही सिमित व्यक्तिहरुका लागि कमाई खाने भाँडो समेत बन्ने गरेको आरोपहरु भने नलागेका होइनन् । खाली प्रतियोगिता सम्पन्न गरे भयो हिशाव किताब कतै कसैलाई बुझाउनु नपर्ने भएपछि एकाध व्यक्तिहरुले कमाइको स्रोत पनि खेलकुदलाई बनाइरहेका छन् ।
प्रतियोगिताले मात्र खेलकुद विकास हुन्छ ?
सिंगो रुकुम हुँदा जिल्लाले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको क्षेत्रीय खेलकुद प्रतियोगिता अन्तरगत कालिकोटमा भएको पुरुष भलिबलमा प्रथम हुँदै स्वर्ण पदक हात पार्यो । त्यसको २ वर्षपछि २०७० सालमा रुकुममा भएको क्षेत्रिय खेलकुद अन्तरगतको पुरुष भलिबलमा रुकुमले पहिलो स्थान हात पार्न सफल भयो । त्यसपछि भने विभिन्न कारणले लामो समय क्षेत्रिय खेलकुद प्रतियोगिता हुन सकेन् । देश संघियतामा गएपछि पहिलो पटक प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना भयो । यतिबेला रुकुम पूर्व र पश्चिम गरी दुई भागमा विभाजन भइसकेको थियो । प्रदेश स्तरीय खेलकुद अन्तरगत सल्यानमा भएको पुरुष भलिबलमा समेत रुकुम पश्चिमले जीत हात पार्दै राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट स्वरुप हुने प्रतियोगितामा लगातार तीन पटक उपाधी जित्दै ह्याट्रिक नै गर्यो । जिल्लामा भलिबल कति रुचाइन्छ भन्ने यसैबाट पुष्टि हुन्छ ।
तर पछिल्ला दिनहरुमा भने प्रतियोगिता बढ्ने तर खेलाडी उत्पादनमा भने खासै बृद्धि भएको पाइदैन् । पहिला भलिबल भन्दा अन्य खेल जिल्लामा नहुँनु र अहिले अन्य विभिन्न खेल भित्रिनु तथा खेलकुद विकासको ठोस योजना नहुँदा स्तर खस्किदो छ । प्रशस्त प्रतियोगिता हुने गरेका छन्, ठुलो रकम वर्षेनि खेलकुदमा खर्च भइरहेको छ । तर के यस्ता प्रतियोगिताले खेलको स्तरमा सुधार गर्न सकेको छ त ? भन्न यक्ष प्रश्न खडा भएको छ । आज भोली जिल्लामा खेलकुद प्रतियोगिता व्यापार बनेका छन् भन्दा पनि फरक पर्दैन् । खेलकुदलाई विल्कुल व्यापार संग जोडेर हेरिएको छ । सरकार तथा गैरसरकारी क्षेत्र वा व्यक्तिबाट ठूलो रकम संकलन गर्ने र खेलकुद संचालन गरेजस्तो गरेर व्यापार हुने क्रम बढेको छ ।
खेलकुद भन्ने वित्तिकै सरकार होस वा व्यक्ति सबैले सजिलै लगानी पनि गर्ने गरेका छन् । खेलकुद विकासको सफा नियत राखेर खेलकुद प्रतियोगिता आयोजना नभएका पनि होइनन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेश शर्मा प्रतियोगिताले मात्र खेलकुदको विकास नहुने बताउनुहुन्छ । ‘खेल गतिविधि बढ्नु सकारात्मक छ, तर ठूल ठूला राशिका खेलकुद प्रतियोगिता राखेर मात्र खेल विकास हुन्न, उहाँ भन्नुहुन्छ ।’ खेलकुदमा लगानी बढेपनि ठोस योजना बनाएर अगाडी बढ्न नसकिएको उहाँ स्विकार्नुहुन्छ । यसका लागि स्थानीय तह सहित जिल्लास्थित खेलकुद संघहरु तथा प्रदेश र संघीय सरकार समक्ष पनि विभिन्न माध्यमबाट कुरा राखिएको शर्मा बताउनुहुन्छ ।
ठोस योजनाका साथ निश्चित लक्ष बिना अन्धाधुन्ध लगानी गरेर खेल क्षेत्रको विकासमा ठूलो सफलता हात नलाग्ने जिल्ला क्रिकेट संघका कोषाध्यक्ष नरबहादुर ओलीको भनाई छ । उहाँका अनुसार खेलकुदको विकासका लागि स्थानीय तहले नेतृत्व गर्नुपर्छ । एक स्थानीय तहमा कम्तिमा एउटा एकीकृत खेलमैदान निर्माण हुनसक्ने हो भने अहिलेको तुलनामा खेलकुदले फड्को मार्ने उहाँको विश्वास छ । ‘अहिले पनि ठूलो रकम खेलकुदमा खर्च भएको छ, उक्त रकमलाई एकीकृत रुपमा खर्च गर्न सक्ने हो भने प्रत्येक स्थानीय तहमा एकीकृत खेलमैदान निर्माण हुनसक्छन्, ठाउँ ठाउँमा भन्दा पनि एकै ठाउँमा सबै खेल खेल्न मिल्ने गरी मैदान निर्माण गर्न सकेको खण्डमा त्यो निकै उपलब्धीमुलक हुनसक्छ उहाँ भन्नुहुन्छ ।’
पूर्वाधार शुन्य
ठूलो रकम खर्चिएर वर्षमा साना ठुला गरी दर्जनौं खेलकुद प्रतियोगिता हुने गरेपनि जिल्लामा खेलकुद पूर्वाधार शुन्य नै छ । भलिबलका लागि गाउँ गाउँमा अव्यवस्थित फिल्डहरु भएपनि स्तरीय एउटा भलिबल कोर्ट पनि छैन् जिल्लामा । भलिबलकै यस्तो हालत छ भने फुटबल, क्रिकेट जस्ता खेलका मैदान हुने झन् कुरै भएन् । तुलनात्मक रुपमा चौरजहारीमा फुटबल र क्रिकेट मैदानहरु छन् । तर ति क्रिकेट र फुटबलकै लागि भनेर भने बनाईएको होइन् । भौगोलिक रुपमै मैदानका रुपमा रहेका खाली ठाउँलाई फुटबल र क्रिकेटका लागि प्रयोग गर्ने गरिएको छ । यद्धपि हाल भने चौरजहारीमा खेलमैदानहरु निर्माण भइरहेका छन् । जिल्ला भरमै खेलकुद मैदानका लागि भनेर ठूलो रकम खर्च पनि गरिएको छ । तर कतै पनि राम्रो खेलमैदान निर्माण भएका छैनन् ।
मुसीकोट नगरपालिका वडा नम्बर २ पानढुंगामा रंगशालाको नाम दिएर खन्न सुरु गरिएको मैदान अहिले अलपत्र अवस्थामा छ । वर्षौसम्म अलपत्र रहेको यो ठाउँलाई अहिले अन्य कुनै प्रयोजनमा प्रयोग गर्ने भन्ने कुराहरु उठिरहेका छन् । यस मैदानमा झण्डै पौने करोड बजेट खर्च भइसकेको छ । यति नै परिमाणमा रकम खर्च भइसकेको मुसीकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौरमा अर्को मैदान अलपत्र छ । यो पनि बन्नेमा शंका छ । मुसीकोट नगरपालिका वडा नम्बर ६ को ट्वाखोलामा पनि क्रिकेट मैदान भनेर लाखौं रकम खर्चिएको छ । तर अहिले मैदानको आकार हेर्दा त्यहाँ क्रिकेट मैदान बन्ने देखिन्न । यसरी सबै जसो स्थानीय तहमा खेलकुद मैदानका नाममा लाखौं, करोडौं रकम खर्च भएको छ । तर गतिलो मैदान कतै बन्न सकेका छैनन् ।
कुन प्रतियोगितामा कति खर्च
क्र.सं. | प्रतियाेगिताकाे नाम | संचालित खेल | स्थान | मिति | कुल पुरस्कार | आयोजक |
१. | अन्तरपालिका स्तरीय खेलकुद | महिला, पुरूष भलिबल, पुरूष ब्याडमिन्टन | बराहटाकुरा खलंगा | २०७८ कार्तिक ११–१५ | १८४०००।– | जिल्ला खेलकुद विकास समिति |
२. | तेस्रो शिद्ध गुफा कप | पुरुष फुटबल | बराहटाकुरा खलंगा | असोज २६ गतेबाट | ४५०००।– | शिद्धगुफा युवा क्लव |
३. | खुला भलिबल तथा फुटबल | पुरुष फुटबल र पुरुष भलिबल | चौरजहारी | कार्तिक | १९७२२२।– | वाइसिएल |
४. | छठको अवसरमा खेलकुद | पुरुष भलिबल | सानीभेरी १० अर्मा |
कार्तिक |
२४०००।– | जनप्रिय मयुर युवा क्लव |
५. | बेल्टापु मेला खेलकुद | महिला, पुरुष भलिबल, पुरुष ब्याडमिन्टन र क्रिकेट | सानीभेरी ३ बेल्टापु | कार्तिक ३०–मंसिर ०३ सम्म | ४७१०००।– | गाउँ खेलकुद विकास समिति सानीभेरी |
६. | विविध खेलकुद | पुरुष भलिबल | मुसीकोट ९ होल्तारा | कार्तिक | ४५०००।– | वडा खेलकुद विकास समिति |
७. | फुटबल प्रतियोगिता | पुरुष फुटबल | मुसीकोट ४ सोलावाङ | कार्तिक | ६००००।– | सोलावाङ युनाइटेड |
८. | गैरीनेटा मेला खेलकुद | पुरुष भलिबल | त्रिवेणि १ गैरीनेटा | कार्तिक ९–१२ | ७३०००।– | मेला आयोजक समिति |
९. | पार्टी पुनर्गठनका अवसरमा खेलकुद | पुरुष ब्याडमिन्टन | मुसीकोट १ बराहटाकुरा | मंसिर ८ गतेबाट | २६०००।– | नेकपा रुकुम पश्चिम |
१०. | चौतारा मेला खेलकुद | महिला पुरुष भलिबल, पुरुष ब्याडमन्टिन र फुटबल | आठबीसकोट ९ राडि | ७७५०००।– | चौतारा मेला आयोजक समिति | |
११. | विच भलिबल महिला पुरुष | विच भलिबल | मुसीकोट १ | पुस २ देखि | २०००००।– | जिल्ला भलिबल संघ |
१२. | कुनाखेत मेला खेलकुद | पुरुष भलिबल, महिला पुरुष ब्याडमिन्टन | बाँफिकोट २ कुनाखेत | पुष ४ देखि | १३८०००।– | वडा युवा तथा खेलकुद विकास समिति |
१३. | भेराखेत मेला | पुरुष भलिबल | बाँफिकोट ९ | कार्तिक | १२८५००।– | भेराखेत स्टार युवा क्लव |
१४. | कर्मचारीहरुको ब्याडमिन्टन | पुरुष ब्याडमिन्टन | मुसीकोट १, खलंगा | पुष १५–१६ | २८०००।– | कर्मचारी मिलन केन्द्र |
जम्माः २३ लाख ९४ हजार ७ सय २२