Kakhara सबैको खबर सम्पूर्ण खबर
गाउँ गाउँमा ब्याडमिन्टनको क्रेज, रातिमा पनि ब्याडमिन्टन
छिन्खेतमा रातकाे समयमा ब्याडमिन्टन खेल्दै ।

बाँफिकोट गाउँपालिका ४ छिन्खेतका डिलबहादुर कुसारी साँझ सात बजे ब्याडमिन्टन खेल्न घरबाट निस्कनुहुन्छ । बिहानको समयमा घरको कामले खेल्न नपाउने कुसारी साँझको समयमा ब्याडमिन्टन खेल्न जानुहुन्छ । हाल उहाँको दैनिकी नै हो यो । उहाँ यसरी साँझको समयमा ब्याडमिन्टन खेल्न सुरु गरेको दुई महिना जति भयो । कुसारी रातिमा ब्याडमिन्टन खेल्ने एक मात्र हुनुहुन्न । छिन्खेतका १५ वर्ष देखि ४० वर्ष उमेरसम्मका युवाहरु पनि यसरी नै रातको समयमा ब्याडमिन्टन खेल्छन् ।

रातमा ब्याडमिन्टन खेल्नु उनीहरुको बाध्यता भने पक्कै होईन । बिहान देखि साँझ सम्म विभिन्न व्यापार व्यावसाय गर्नेहरु रातको समयमा ब्याडमिन्टन खेल्ने गरेका छन् । ब्याडमिन्टन खेल्दा सहज होस् भनेर कोर्टको वरपर बत्तिहरु बालिएको छ । १५ वर्षीय अनिल ओली प्रत्येक साँझमा कोर्टमा आउनुहुन्छ । ब्याडमिन्टन खेलप्रति आफ्नो रुचि भएको हुँदा दैनिक साँझ ब्याडमिन्टन कार्टमा पुग्ने गरेको उहाँको भनाई छ । यही कोर्टबाट आफुले ब्याडमिन्टन खेलको सुरुवात गरेको उहाँले बताउनुभयो । ब्याडमिन्टन कसरी खेल्छन भन्ने समेत थाहा नपाएका ओली अहिले भने यो क्षेत्रका राम्रो खेलाडी बन्नुभएको छ ।

ब्याडमिन्टन कोर्ट सबैलाई जम्मा गर्ने चौतारी बनेको छ । खेल खेल्ने मात्र नभइ खेल हेर्नेहरु पनि आउने गरेक छन् । साँझ पाँच बजेबाट खेल्न सुरु गरेर राती १० ११ बजेसम्म खेल्ने गरिएको छ । स्थानीय चन्द्रजङ्ग मल्लले आफ्नै जग्गामा ब्याडमिन्टन कोर्ट र बिजुली बत्तिको व्यवस्था मिलाइदिनु भएको छ । निःशुल्क रुपमा बिजुली बत्ति र कोर्टको व्यवस्था गरेपछि खेलाडीहरुलाई सजिलो भएको छ । 

जिल्लाका अधिकांश गाउँहरुमा ब्याडमिन्टन कोर्ट बनाइएका छन् भने बालक देखि जेष्ठ नागरिकसम्मलाई यसको रुचि बढेको छ । यस अघिका वर्षहरुमा जिल्लामा फाट्टफुट्ट खेलाडी भए पनि पछिल्लो समय सयौँको संख्यामा खेलाडी उत्पादन भएको जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमका अध्यक्ष अनिल बुढाले बताउनुभयो । स्वास्थ्यलाई सधै तन्दुरुस्त भनाउने भएको हुँदा जिल्लामा पछिल्लो समय ब्याडमिन्टन खेल्ने खेलाडिको संख्यामा वृद्धि भएको उहाँको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update