कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिङ बुढाले पार्टीको कित्ता क्लियर पार्नुभएको छ । नेकपा कम्युनिष्ट पार्टी नेकपा दुई समूहमा विभाजित भइसकेका बेला मन्त्री बुढाले पनि दुई मध्य एक समूह रोज्नुभएको हो । मंगलबार विज्ञप्ती जारी गरी बुढाले आफू प्रचण्ड–माधव नेपाल समूहमा आफू आवद्ध रहेको जानकारी गराउनुभएको छ । विज्ञप्तीमा बुढाले नेकपाको ऐतिहासिक एकता भइ समग्र पार्टी एक हुने अन्तिम चरणमा आएर दुर्भाग्यवस भयानक अवस्थामा पुगेको दुःखद घडीमा नेपालको कम्युनिष्ट आन्दोलनलाई सफल र एकीकृत बनाउन जिम्मेवार कार्यकर्ताको रुपमा महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभएको छ । डोल्पा जिल्लाबाट जनताको अपार मायाबाट निर्वाचित भइ कर्णाली प्रदेश सभा सदस्यका रुपमा कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नु पनि त्यतिकै महत्वपूर्ण रहेकाले आफू पार्टीको मुल प्रवाहमा रहेको प्रचण्ड–माधव नेपाल नेतृत्वकै पार्टीमा रहेको बुढाले प्रष्ट पार्नुभएको छ । यस अघि केपी ओली पक्षमा रहेका सामाजिक विकास मन्त्री दल रावल पनि यही समूहमा आइसक्नुभएको छ । पछिल्लो समिकरण अनुसार अब कर्णाली प्रदेश सरकारमा अविश्वासका प्रस्ताव ल्याउन असम्भव भएको छ । केही दिन अघि नेकपाको कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेश एकताबद्ध रहेको र रहिरहने बताउनुभएको थियो । त्यसपछि कर्णाली प्रदेशमा केही समिकरण फेरिएको हो । कर्णाली प्रदेशमा पार्टी तथा संसद दुवैतर्फ प्रचण्ड–माधव नेपाल समूह प्रष्ट बहुमतमा छ ।