Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीय तह बनेपछि मुसीकाेट ९ मा साढे ४ किलोमिटर पिसिसि बाटो निर्माण 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा ९ मा स्थानीय तहको निर्वाचन पछि ४ हजार ५ सय मिटर अर्थात साढे ४ किलोमिटर पिसिसि बाटो निर्माण गरिएको छ । वडाका आम समुदायको दैनिकिलाई सहज बनाउनका लागि वडाका विभिन्न टोलमा पिसिसि ढलान गरिएका बाटो निर्माण गरिएको हो । 

वडावासीलाई हिडडुलमा समस्या भएपछि वडाले दैनिक उपभोग गर्ने बाटाघाटाहरुलाई ब्यबस्थित बनाएको हो । यो कामलाई वडाले प्राथमिकताका साथ अगाडि बढाएको थियो । वडाका वेरोजगारलाई रोजगारी दिनुका साथै असजिलोलाई सजिलो बनाउने उद्देश्यले प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रमको रकमबाट उक्त योजनाहरु सम्पन्न भएका हुन । 

वडामा रहेको होल लिङगुर टोलमा १ हजार ९ सय ५० मिटर, नमुना टोल चौखावाङमा ९ सय ६० मिटर, स्वारा कुन्सिम्ला टोलमा १ हजार १ सय ९० मिटर र होल्तारा अदुवारी टोलमा ४ सय मिटर पिसिसि बाटो निर्माण गरिएको वडाध्यक्ष नविन ओलीले जानकारी दिनुभयो । 

यि बाटो निर्माण गर्दा ७१ लाख ९९ सय हजार रुपैंया खर्च भएको उहाँले बताउनुभयो । यि बाटोबाट वडाका २ सय ४३ घरधुरीले लाभ उठाएका छन् । साथै यि बाटो निर्माणमा एक घर एक ब्यक्तिले काम पाएका थिए । यसबाट वडावासीले केही दिनको रोजगारी समेत पाएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update