मणि राज शाह
१. विषय प्रवेश
आठविसकोट नगरपालिका कर्णाली प्रदेशमा रहेको रुकुम पश्चिम जिल्लाको उत्तरी भूभागमा अवस्थित छ । नेपालमा संघीय व्यवस्थाको कार्यान्वयनसँगै स्थानीय तहको रुपमाआठबिसकोट नगरपालिका बन्यो । नगरपालिकाको रुपमा स्थापना हुँदा जनसंख्या बाहेक स्वास्थ्य, शिक्षा यातायात र संचार जस्ता क्षेत्रको अवस्था नगरपालिका भन्न लायक थिएन । नगरपालिका स्थापनादेखि वर्तमान समयसम्म आइपुग्दा नगरपालिकाको विभिन्न क्षेत्रमा उल्लेख्य परिवर्तन भएको देख्न र महसुस गर्न सकिन्छ । स्वास्थ्य क्षेत्रलार्इ नगरपालिकाले दोस्रो प्राथमिकतामा राखी विशेष पहल र लगानी गरेको छ । फलस्वरुप स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको देखिन्छ । यस आलेखमा आठविसकोट नगरपालिकाको स्वास्थ्य स्थितिको वर्तमान अवस्था र नगरपालिका स्थापना पूर्व अवस्थाको तुलना गरी पालिकास्तरीय आगामी योजनामा स्वास्थ्य सम्बन्धी कार्यको खाका समेत तयार पार्ने प्रयास गरिएको छ ।
२. नगरपालिका स्थापना पूर्वको स्वास्थ्य अवस्था
आठविसकोट नगरपालिका स्थापना पूर्व हालको नगरपालिका क्षेत्रमा पाँच वटा गा।वि।स। थिए । हालको वडा नं २ को स्यालाखदी, वडा नं ४ को गोतामकोट वडा नं ९ को राडिजिउला वडा नं ११ को गोइरी र वडा नं १४ को ज्यामिरकोट गरी जम्मा पाँच स्थानमा मात्र स्वास्थ्य चौकी रहेका थिए । ती संस्थामा १६ जना सहायक तहका स्वास्थ्यकर्मी र ५ जना कार्यालय सहयोगी गरी जम्मा २१ जना मात्र स्वास्थ्य क्षेत्रमा कार्य गर्ने कर्मचारी थिए । गोतामकोट र राडिजिउलाका स्वास्थ्य संस्था मात्र संस्थागत प्रसुति केन्द्रको रुपमा रहेका थिए । जन्मेका कूल बालबालिकामध्ये ५६५ ले मात्र पूर्ण खोप पाउने गरेका थिए । करिव करिव आधाजति बालबालिका खोप सेवा पाउन बाट बन्चित हुने गरेको देखिन्छ । अठार प्रतिशत भन्दा बढी बालबालिका शिघ्र कुपोषणले गाजिएका हुन्थे । न्यून संख्याका गर्भवती मात्र गर्भ जाँच गराउन स्वास्थ्य संस्थामा जाने गर्थे । सुरक्षित तरिकाले स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा सुत्केरी हुने संख्या पनि थोरै हुन्थ्यो । स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी पछिको जाँच गराउने संख्या चार प्रतिशत भन्दा कम थियो । जसको कारण सुत्केरी अवस्था र सुत्केरीपछिको अवस्थामा धैरै आमाहरुको अकालमा ज्यान जाने गर्थ्यो । स्वास्थ्य संस्था सबैको पहुँचमा थिएनन् । परिवार नियोजनका साधन सबैले चाहेको अवस्थामा पाउन सकिरहेका हुन्थेनन् । जसको कारण नचाहदा नचाहदै पनि गर्भधारण गर्नुपर्ने र गर्भ तथा सुत्केरी अवस्थाको जोखिम मोल्नुपर्ने हुन्थ्यो । सन्तानको रहर पुगेकाले पनि सन्तान थपिइरहेका हुन्थे ।
स्वास्थ्य संस्थामा सेवा लिन घन्टौ हिड्नुपर्थ्यो । हिडाइको क्रममा कैयौँ खोला तर्नुपर्थ्यो भने कैयौँ डाँडा छिचोल्नुपर्थ्यो । यसरी कठिनाइका साथ स्वास्थ्य संस्थामा त आइपुग्थे सेवाग्राही तर स्वास्थ्यकर्मी भेटिनु भनेको घोगाको शिला पाए जस्तै हुन्थ्यो । भेटाए भाग्य सम्झन्थे । नभेटाए कर्मै अभागी भन्थे । उजुर कतै गर्दैनथे । गरेपनि लाग्दैनथ्यो । त्यसैले त झाक्री धामी या भाग्य गुहार्थे । ग्यास्टाइटिसले मुटु दुख्दा होस वा पत्थरीले कोखा चस्किदा । लडेर हातखुट्टा भाँचिदा समेत ।नगरपालिकाको बस्तीभरी गरिवी थियो । अभाव र पछौटेपना पनि । स्वास्थ्य सम्बन्धी चेतनाको अभाव थियो । त्यसैकारण बर्षेनी महामारीले सताउथ्यो । कहिले झाडापखालाको महामारीले धैरैको ज्यान लिन्थ्यो भने कहिले टाइफाइडले । कहिले फ्लु ले सताउथ्यो त कहिले कलेराले ।
यसरी नगरपालिका स्थापनापूर्व पालिकाभरी न्यून चेतना, सेवा पहुँचको कमी, औषधी अभावर गुणस्तरीय स्वास्थ्य सेवाको कमी जस्ता स्वास्थ्य समस्या ज्यूकात्यू रहेका थिए ।
३.नगरपालिकाको वर्तमान स्वास्थ्य अवस्था
आठविसकोट नगरपालिका स्थापना भएपश्चात स्थानीय सरकारले कानून निर्माण गर्नथाल्यो। स्रोत साधनको जोहो गरी नीति कार्यक्रम र बजेट आउन थाल्यो ।यसैक्रममा स्वास्थ्य सेवालार्इ सबैको पहुँचयोग्य बनाउन नगरपालिकाले जम्मा २२ वटा स्वास्थ्य संस्थाको स्थापना गरी संचालन गर्यो । पालिकाको केन्द्र रहेको राडिजिउलामा ल्याव एक्स रे युएसजी सेवा सहितको नगर अस्पताल स्थापना गरी संचालन गर्यो ।जसका कारण नगर अस्पतालमा चिकित्सक सहित स्वास्थ्यकर्मीको टीमले चौबिसै घन्टा सेवा प्रदान गरिरहेको देखिन्छ । टोल बस्ती बस्ती सेवा पुग्नेगरी ९४ जना स्वास्थ्यकर्मी खटायो । स्वास्थ्यकर्मीहरुको अभावलाइ मध्यनजर गरी ६८ जना करार सेवामा स्वास्थ्यकर्मी भर्ना गरिए । समय समयमा विशेषज्ञ चिकित्सक सहितको सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने गरियो । नगरपालिकाले स्वास्थ्य विमा कार्यक्रमलार्इ अनिवार्य गरी आम नागरिकलार्इ समावेश गर्यो ।हाल नगरपालिकाले सबै स्वास्थ्य संस्थाको भवन निर्माण कार्यलार्इ निरन्तरता दिएको छ । सबै स्वास्थ्य संस्थामा बाह्रै महिना औषधीको अभाव हुन नदिने गरी व्यवस्था मिलाएको छ । गुणस्तरीय सेवाका लागि औजार उपकरणको व्यवस्था पालिकाले गरेको छ । जसको फलस्वरुप जम्मा बालबालिका मध्ये ९६ प्रतिशतले विसिजि खोप प्राप्त गर्ने गरेको देखिन्छ । शिघ्र कुपोषणको दर ६ प्रतिशतमा झरेको छ । संस्थागत रुपमा सुत्केरी हुने दर गर्भ जाँच र प्रसुति जाँचको संख्यामा उल्लेख्य वृद्धी भएको देखिन्छ ।
हाल नगरबासी स्वास्थ्य सेवाको पहुँचमा रहेका छन् । स्वास्थ्यप्रद आनी बानी र चेतनामा क्रमशः सुधार हुदै गएको देखिन्छ । बर्षेनी महामारीको रुपमा फैलने रोगको अन्त्य भएको देखिन्छ । सारा विश्वलार्इ समेत सताएको कोभिड १९ को महामारीमा आवश्यक तयारी र योजनावद्ध कार्य गरेकाले पालिकाभरी ठूलो क्षति व्यहोर्नु परेन । नगरपालिकाले १० दिनमै १४ बेडको कोभिड आइसोलेसन वार्ड निर्माण गरी नमूनायोग्य कार्य समेत गर्यो । पालिकाले पाँच वटा स्वास्थ्य संस्थामा नेटको व्यवस्था सहित अनलाइन डाटा इन्ट्री गर्ने व्यवस्था मिलाएको छ । पालिकाले स्वास्थ्य तथा सामाजिक विकास शाखा अन्तरगत रहनेगरी सफ्टवेयरमार्फत व्यवस्थित औषधीको स्टोर संचालनमा ल्याएको छ । त्यसैगरी व्यवस्थित सफ्टवेयरमार्फत सहुलियत दरको सशुल्क फार्मेसी सेवा पनि संचालनमा ल्याएको छ । नगर अस्पतालमा टेलिमेडिसिन सेवा मार्फत विशेषज्ञ सेवाको शुरुवात समेत भएको छ ।
माथि उल्लेखित प्रयास मार्फत नगरपालिकाको स्वास्थ्य अवस्थामा आएको परिवर्तन देहाए बमोजिम तुलना गरिएको छः
३.१ संस्था र मानव संशाधन सम्बन्धी तुलना
सूचक |
स्थानीय तह भन्दा पूर्व आठविसकोटको अवस्था |
बर्तमान अवस्था |
स्वास्थ्य संस्था संख्या |
५ वटा मात्र |
२२ वटा |
स्वास्थ्य संस्थाको विवरण |
५ वटा स्वास्थ्य चौकी मात्र |
नगर अस्पताल १ स्वास्थ्य चौकी ४ आधारभूत स्वास्थ्य सेवा केन्द्र ९ शहरी स्वास्थ्य इकाइ ८ |
स्वास्थ्यकर्मी संख्या |
२१ |
९४ |
स्वास्थ्यकर्मी विवरण |
एच ए ५ जना अहेव ६ जना अनमी ५ जना का स ५ जना |
चिकित्सक १ जना जनस्वास्थ्य निरीक्षक १ जना एच ए १० जना स्टफ नर्स ३ जना रेडियो ग्राफर १ जना ल्याव टेक्निसियन १ जना बायोमेडिकल सब इन्जिनियर १ जना अहेव २२ जना अनमी ३१ जना ल्याव असिस्टेन्ट २ जना का स १९ जना अन्य २ जना
|
वर्थिंग सेन्टर संख्या |
२ |
४ वटा |
कुपोषणको बहिरंग उपचार केन्द्र |
० |
२ वटा |
३.२ स्वास्थ्य सूचकहरुको तुलना
सूचक |
स्थानीय तह भन्दा पूर्व आठविसकोटको अवस्था |
आठबिसकोटको वर्तमान अवस्था |
कर्णाली प्रदेशको अवस्था |
राष्टिय अवस्था |
बिसीजी खोप कभरेज |
६१% |
९६% |
९३% |
८६% |
पूर्ण खोप कभरेज |
५६% |
८५% |
९०% |
८०% |
कुपोषणको दर |
१८% |
६% |
|
|
प्रोटकल अनुसार ४ पटक गर्भ जाँच गर्ने महिलाको प्रतिशत |
२८% |
४०% |
६६% |
५३% |
स्वास्थ्य संस्था प्रसुति दर |
३१% |
५४% |
७८% |
६६% |
प्रोटकल अनुसार ३ पटक सुत्केरी जाँच गर्ने आमाहरुको प्रतिशत |
४% |
१३% |
२९% |
१९% |
परिवार नियोजन सेवाको साधन प्रयोग दर |
१०% |
१९% |
१९% |
११% |
३.४ नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका नयाँ प्रयासहरु
आठविसकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार गर्न र अपेक्षित नतिजा हासिल गर्न केही नविनतम् प्रयासको थालनी गरेको देखिन्छ । ती कार्यलार्इ निम्नानुसार प्रष्ट्याउन सकिन्छः
- आव ०७४।७५ को शुरुवातमै सबै वडामा कम्तिमा एक वटा स्वास्थ्य संस्था रहनेगरी २२ वटा स्वास्थ्य संस्थाको स्थापना र संचालन गर्नु ।
- आव ०७५।७६ को शुरुवातमै नेपालमै पहिलो नगर अस्पतालको रुपमा कानूनी प्रक्रिया पुर्याइ संचालन गर्नु।
- नगर अस्पतालमै सहुलियत दरमा चौविसै घन्टाको सेवा सहितको फार्मेसी सेवा संचालन गर्नु ।
- विशेषज्ञ स्वास्थ्य शिविर तथा सर्वेक्षण संचालन गरी नगरपालिकाको प्रमुख स्वास्थ्य समस्या पत्ता लगाउनु ।
- नगर अस्पताललाई स्वास्थ्य विमा कार्यक्रममा जोडी नगरका आम घर परिवारलाई स्वास्थ्य विमामा आबद्ध गराउनु ।
- ठूलो संख्यामा स्वास्थ्यकर्मी करार सेवामा भर्ना गर्नु ।
- स्वास्थ्यकर्मीहरुलाई उपचारात्मक कार्यमा मात्र नलगाई स्वास्थ्य जागरण कार्यमा समेत परिचालन गर्नु ।
- टेलिमेडिसिन सेवामार्फत नगर अस्पतालबाट विशेषज्ञ उपचारको व्यवस्था गरिनु ।
४. नगरपालिकाले आगामी योजनामा समेट्नुपर्ने स्वास्थ्य कार्यक्रम
आठबिसकोट नगरपालिकाको स्वास्थ्य प्रणालीमा अझै प्रगति गर्न र नगरवासीको स्वास्थ्य अवस्थामा विशेष सुधार गर्न देहाय बमोजिमका कार्यक्रम संचालन गर्नु आवश्यक देखिन्छः
- TOR निर्माण गरी स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने ।
- दण्ड र पुरस्कारको व्यवस्था पालिकाले गर्नुपर्ने ।
- संस्थागत प्रसुति दर गर्भजाँच र प्रसुति जाँचको दर बढाउन विशेष कार्यक्रम संचालन गरिनुपर्ने ।
- पोषण सम्बन्धी विशेष अभियान संचालन गरिनुपर्ने ।
- टेलिमेडिसिन सेवालाई स्वास्थ्य चौकी स्तरमा विस्तार गरिनुपर्ने ।
- आठबिसकोट नगर अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्नुपर्ने ।
- आठविसकोट नगर अस्पताललाई टिचिङ अस्पताल स्वरुपमा बनाई प्राविधिक स्वास्थ विषयको पठनपाठन हुने व्यवस्था गर्नुपर्ने ।
- गोतामकोट स्वास्थ्य चौकीलाई ल्याव एक्सरे युएसजी सेवा सहितको बनाउनुपर्ने ।
५.निष्कर्ष
आठविसकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी र प्रयासमार्फत उल्लेखनीय परिवर्तन देखा परेका छन् । स्वास्थ्य क्षेत्रका धेरै सूचकहरुमा सुधार आएका छन् । जनप्रतिनिधीहरुको स्वास्थ्य क्षेत्रलाई हेर्ने सकारात्मक दृष्टिकोण र सम्बृद्धीका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने भावनाले आम नगरबासीको स्वास्थ्य स्थिति सुधारोन्मुख देखिन्छ । यद्यपी कर्णाली प्रदेशको समकक्षीयता र राष्ट्रीय स्तरको अवस्थामा पालिकालार्इ पुर्याउन भने अझै प्रयास जारी राख्नुपर्ने देखिन्छ ।
लेखक मणि राज शाह रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाको जनस्वास्थ्य निरीक्षक हुनुहुन्छ ।