संसद विघटनको विरोधमा लगातार संघर्षका कार्यक्रम गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आज चौरजहारी नगरपालिकामा प्रदर्शन र विरोध सभा गरेको छ । पार्टी नगर कमिटिको आयोजनामा चौरजहारीमा विरोध प्रदर्शन भएको हो । पार्टी जिल्ला कमिटिको निर्णय अनुसार आज चौरजहारी नगर कमिटिले १४ वटै वडाबाट नेता, कार्यकर्ता तथा पार्टी समर्थकलाई चौरजहारीमा उतार्दै संसद विघठन प्रति विरोध जनाएको हो । नगरको वडा नं. ६ को शान्ति बजारबाट सुरु भएको र्याली मेलैनाउली, विजयश्वरी हुँदै, चौरहाजरी भ्याली परिक्रममा गरी वडा नं. २ को शंखपिपलमा सभामा परिणत भएको थियो ।
भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज शेरवहादुर केसीले संसद विघठन गरेर केपि ओलीले जनघाति काम गरेको आरोप लगाउनुभयो । आफुहरु चुनाव देखि भागेको नभई संविधान कार्यान्वयनको पक्षमा रहेको उहाँको भनाई थियो । संविधानमै व्यवस्था नभएको धारालाई देखाएर संसद विघठन गर्नु असंवैधानिक रहेको उहाँले बताउनुभयो । केपि ओलीलाई पार्टीले कारवाही गरिसकेको र अव उनि पार्टीको सामान्य कार्यकर्ता मात्र रहेको उहाँले टिप्पणि गर्नुभयो । साथै उहाँले आफुहरु रहेको पार्टी नै आधिकारीक नेकपा रहेको समेत दाबि गर्नुभयो । उहाँले विचलित नभई समाजवादको यात्रामा लम्किन नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
बिरोध सभालाई सम्बोधन गर्दै पार्टीका प्रदेश कमिटि सदस्य तथा जिल्ला इन्चार्ज गोपाल शर्मा ‘अनल’ले केपि ओली उल्टो बाटोमा हिडेको टिप्पनि गर्नुभयो । प्रतिनिधि सभा र संविधानलाई आफ्नो नीजि सम्पति सम्झेर ओलीले संविधान माथि आक्रमण गरेको र त्यो आफुहरु र जनतालाई मान्य नहुने उहाँले बताउनुभयो । संसद पुनस्र्थापनाका लागि जनता एकजुट रहेको र त्यसलाई आफुहरुले नेतृत्व मात्र गरेको उहाँको भनाई थियो । जनताका अगाडि कोहि पनि शासक टिक्न नसक्ने र अव केपि ओलीको पनि उल्टो गिन्ति सुरु भइसकेको उहाँले बताउनुभएको थियो ।
विरोध सभालाई पार्टीका प्रदेश कमिटि सदस्यहरु विशाल शर्मा र राधा रोकाले पनि सम्बोधन गर्नुभएको थियो । पार्टीका नगर कमिटि अध्यक्ष श्रीकृष्ण शर्माको अध्यक्षतामा भएको सभाको संचालन सचिव विरवहादुर रानाले गर्नुभएको थियो । यसैविच नेकपाको पालिका स्तरीय विरोध प्रदर्शन सकिएको छ । पुष १४ गते जिल्ला स्तरीय विरोध प्रदर्शन गरेको नेकपाले त्यसपछि पालिका स्तरमा विरोध प्रदर्शनलाई अगाडि बढाएको थियो । अव संघर्षलाई वडा तथा टोल स्तरमा लैजाने उसको तयारी छ । पालिका स्तरीय संघर्षपछि अव वडा तथा टोल स्तरीय संघर्षका कार्यक्रमहरु हुने नेकपाका जिल्ला सचिव विमलकुमार पुनमगरले जानकारी दिनुभयो । जसअन्तरगत प्रदर्शन सहित भेला तथा बैठकहरु संचालन हुने उहाँले बताउनुभयो । जिल्ला प्रचण्ड–माधव नेपाल समुहमै एक ढिक्का देखिएको छ ।